नामै मात्रको सीप विकास केन्द्र !

  नयाँ बुलन्द
0 Shares

इटहरी : नेपालीमा एउटा उखान छ– ‘सरकारी काम कहिले जाला घाम’ । यो उखान इटहरीमा रहेको व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठानसँग ठ्याक्क मिल्छ ।

सरकारले करोडौं रुपैयाँ लगानी गरेर सीप मूलक जनशक्ति उत्पादन गर्ने उद्देश्यले स्थापना भएको यो कार्यालय नामै मात्रको छ । कर्मचारीहरू आउने र हाजिर गरेर तलब पकाउने कामबाहेक अरू केही उपलब्धि छैन ।

देशको बेरोजगारी समस्यालाई महसुस गरी सीपयुक्त जनशक्ति उत्पादनबाट मुलुकको बेरोजगारी समस्यालाई समाधान गर्ने उद्देश्यले स्थापना भएको व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठानसँग सीप सिकेका युवायुवतीहरूको तथ्याङ्कसम्म सो कार्यालयमा छैन । कार्यालयका कर्मचारीले हालसम्म कसले र कति जनाले सीप सिके भन्ने तथ्याङ्कसमेत राख्न सकेका छैनन् ।

व्यावसायिक तथा सीप विकास तालिम केन्द्रका सूचना अधिकारी सन्दीप राणाले पुराना कर्मचारीहरू नभएका कारण कार्यालयसँग तथ्याङ्क नभएको बताए । ‘अघिल्लो वर्षकोसम्म तथ्याङ्क कार्यालयमा छैन’ उनले भने, ‘हामी पनि भर्खरै आएका हौं, सीप सिकेकाहरूको तथ्याङ्क नहुँदा हामी पनि अल्मलिएका छौं ।’ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारमा प्रतिस्पर्धा गर्नसक्ने दक्ष र सीपयुक्त जनशक्ति तयार गरी बेरोजगारी घटाउने उद्देश्य राखेको कार्यालय अहिले सुस्ताएको छ । तर सूचना अधिकारी राणाले भने यो वर्षबाट भने तथ्याङ्कको अपडेट गर्दै जाने बताए । दक्ष जनशक्तिको तथ्याङ्क कार्यालयमा नहुनु निराशाजनक भएको उनी आफै स्वीकार्छन् ।

कार्यालयमा भेटिदैनन् प्रमुख

व्यावसायिक सीप विकास प्रतिष्ठानका कार्यालय प्रमुख अधिकांश समय कार्यालयमा बस्दैनन् । केही समयअगाडि आएका कार्यकारी निर्देशक धर्मेन्द्रप्रसाद धमला कार्यालयमा धेरै समय बस्दैनन् । सर्वसाधारणको गुनासोपछि संवाददाता कार्यालय पुग्दा उनी भेटिएनन् । तर सूचना अधिकारी राणाले भने आफ्नो हाकिमको बचाउ गर्दै भने, ‘काठमाडौं जानुभएको छ, आजै कार्यालय आइपुग्नुहुन्छ ।’ उनले थपे, ‘सर भरे बेलुकासम्म आउने कुरा छ ।’

कर्मचारी अभाव

सीप विकास प्रतिष्ठानमा लामो समयदेखि कर्मचारीको अभाव हुँदै आएको छ । दरबन्दीअनुसारका कर्मचारी नहुँदा कार्यालयमा कर्मचारी अभाव भएको कार्यालयले जनाएको छ । कार्यालयमा १३ जनाको दरबन्दी भए पनि अहिलेसम्म ८ जना मात्र कर्मचारी कार्यालयमा छन् । दरबन्दी पूर्ण नहँुदा कार्यालयमा कर्मचारी अभाव हुँदै आएको बताइएको छ । दरबन्दीअनुसार कार्यालयमा कर्मचारी नहुँदा समस्या हुँदै आएको कार्यालयले जनाएको छ । सिलाइ कटाइ, कम्युटर ब्युटीपार्लरलगायतको तालिम दिने काम भइरहेको कार्यालयले जनाएको छ ।

साढे ७ सयलाई तालिम दिने तयारी

प्रतिष्ठानले यो वर्ष ७ सय ७० जनालाई तालिम दिने लक्ष्य राखेको कार्यालयले जनाएको छ । यो वर्ष प्रदेश १ का ७ सय ७० जनालाई दक्ष बनाउने उद्देश्य रहेको जनाइएको छ । सिलाइ–कटाइ, कम्युटर, ब्युटीपार्लर, इलेक्ट्रिकल, कुक, कृषि, क्लिनर, हाउसकिपिङ, प्लम्बिङ, अटोमेकानिक्सलगायतका क्षेत्रमा तालिम दिने तयारी गरेको सीप विकास प्रतिष्ठान इटहरीले जनाएको छ ।

स्वदेशी तथा विदेशी श्रम बजारमा प्रतिस्पर्धा गर्नसक्ने उद्यमशील, दक्ष, सीपयुक्त, श्रमशक्ति विकास गरी बेरोजगारी न्यूनीकरण गर्न सघाउने उद्देश्यले तालिमको तयारी भएको कार्यालयले जनाएको छ । लक्षित वर्गलाई रोजगारमूलक तालिम प्रदान गरी बेरोजगारी हटाउने र आयआर्जनको दायरा बढाउने जनाइएको छ । नेपालमा कार्यरत विदेशी श्रमिकलाई सीपयुक्त नेपाली श्रमिकबाट क्रमशः प्रतिस्थापन गर्दै जाने कार्यालयले जनाएको छ ।

ब्लास्टखबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार