इलाममा पहिलो व्यवसायिक फुटसलको स्थापना

इलाम : इलाममा पहिलोपटक व्यवसायिक फुटसलको स्थापना भएको छ । युवा व्यवसायी रोशन राई र सुरेन्द्र राईले स्थापना गरेको इलाम स्पोर्ट सेन्टरद्वारा संचालित फूटसलको मंगलबार औपचारिक उद्घाटन गरिएको हो ।

इलाम नगरपालिका प्रमुख महेश बस्नेतले एक समारोहकाबीच जिल्लामै पहिलो पटक स्थापित फूटसलको उद्घाटन गरे । उद्घाटनपछि संक्षिप्त मन्तव्य राख्दै नगरप्रमुख बस्नेतले जिल्लामा नयाँ खेललाई व्यवसायको रुपमा अगाडि बढाएको भन्दै व्यवसायिक सफलकताको कामना गरे । उनले फूटसललाई व्यवसायिक बनाउन आगामी दिनमा नगरपालिकाको तर्फबाट समेत आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए ।

व्यवसायिक फूटसलका लागि इलाम नगरपालिका ९ काफ्ले गाउँमा सुविधासम्पन्न फूटसल कोर्ट निर्माण गरिएको छ । करिब १ करोड रुपैयाँको लागतमा सुविधासम्पन्न फूटसल कोर्ट निर्माण गरिएको इलाम स्पोर्ट सेन्टरका संचालक रोशन राईले जानकारी दिए ।

२ रोपनी जग्गा १० वर्षका लागि लिजमा लिएर ट्रस्ट र कार्पेट लगाएर फूटसल कोर्ट निर्माण गरिएको छ । रातको समयमा समेत खेल्न सकिने गरी व्यवस्थापन मिलाइएको संचालक राईले बताए । ‘इलाममा इन्डोर गेमको विकास र खेल पर्यटन प्रोत्साहनका लागि व्यवसायिक फूटसलको सुरुआत गरेका हौं’ राईले भने, ‘विजुलीको समेत उचित व्यवस्थापन गरिएको हुनाले २४ सै घण्टा खेल्न सकिनेछ ।’

उद्घाटनका अवसरमा मैत्रीपूर्ण खेल

यसैबीच पहिलोपटक स्थापना गरिएको फूटसलको उद्घाटनमा मैत्रीपूर्ण प्रतियोगिता संचालन गरिएको छ । राजनीतिक दल पत्रकारबीचत भएको खेलमा ७-३ गोल अन्तरले राजनैतिक दल विजयी बन्यो । यसैगरी साहित्यकार र जनप्रतिनिधिबीचको खेलमा ८-७ गोल अन्तरले जनप्रतिनिधिको टिम विजेता बन्यो ।

राजनीतिक दल र जनप्रतिनिधि बीचको फाइनल खेल आउँदो शनिबार हुने आयोजक इलाम स्पोर्ट सेन्टरका संचालक रोशन राइले जानकारी दिए ।

के हो फूटसल ?

फुटसल भनेको फुटबलको नै एउटा ब्रान्ड हो । फुटबलवाट नै फुटसल आएको हो । फुटबलको सानो रुप नै फुटसल हो । सन् १९३० बाट औपचारिक रूपमा ब्राजिलबाट सुरु भएको फुटसल खेल पछिल्लो समय नेपालमा पनि लोकप्रिय बन्दै गइरहेको छ । खुला ठाउँको अभावमा समेत शारीरिक व्यायाम गर्नबाट वञ्चित बनेका बालबालिकादेखि वृद्धवृद्धासम्मका लागि फुटसल उपायोगी हुन्छ । सुरुमा उपत्यकामा मात्र केन्द्रित यो खेल अहिले विराटनगर, हेटौंडा, बनेपा, पोखरा, धरान, चितवनलगायतका देशका प्रमुख शहरमा समेत विस्तार भइसकेको छ ।

फुटबलकै सानो रुप अर्थात इन्डोरमा खेलिने फुटसल खेलको इतिहास जति लामो छ, यसमा त्यतिकै रोचक कुराहरु पनि रहेका छन् । उरुग्वेका जुआन कार्लोस सेरिआनी ग्राभियरलाई फुटसलका प्रारम्भकर्ता मानिन्छन् । फुटसल सुरु भएको ३ वर्षपछि सन् १९३३ मा बल्ल यसमा नियम लागू गरिएको थियो । फुटबल ९० मिनेट खेलाइन्छ भने फुटसल ४० मिनेट र ५–५ जना खेलाडीहरु मात्रै खेल्न सक्छन् । यस खेलका अधिकांश नियम फुटबलसँग मेल खान्छन् । तर एकमात्रै नमिल्ने भनेको यसमा हातले थ्रो हुँदैन । थ्रोलाई खुट्टाले नै प्रहार गरिन्छ ।

कसरी खेलिन्छ फुटसल ?

अन्तर्राष्ट्रिय स्तरको फुटसल पिचको आकार ४०/२० मिटरको हुने गर्दछ । फुटसलमा एक समूहमा ५ जना गरी दुई समूहमा जम्मा १० जनाले खेल्ने गरिन्छ । धेरैजसो नियम फुटबलसँग मिल्ने यस खेललाई फुटसल पिच र फुटसल बलबाट मात्र खेल्ने गरिन्छ । साथै यस खेल हलभित्र खेलिने हुनाले यसलाई इन्डोर फुटबल पनि भन्ने गरेको पाइएको छ ।

विश्वजगतमा केही समय पहिलेदेखि यसको लोकप्रियता बढ्दै गएपनि नेपालमा यो खेल भित्रिएको त्यति धेरै समय भएको छैन । यद्यपि छोटो समयमा नै युवा पुस्ताहरुबीच यसको लोकप्रियता दिनप्रतिदिन चुलिँदो छ । फुटसल खेलमा कुनै पनि उमेर हदको चिन्ता नहुने हुनाले ठूला उमेर समूहदेखि सानासम्म सबैले खेल्न सक्छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार