‘वैचारिक चिन्तनका लागि साहित्य महोत्सव’ : अध्यक्ष थाम्सुहाङ

  नयाँ बुलन्द  209 पटक हेरिएको

इलाममा आउँदो असोज ३ र ४ गते इलाम साहित्य महोत्सव २०७६ हुँदैछ । इलाम साहियत्य समाजको आयोजनामा हुने महोत्सवको तयारी तीब्र पारिएको छ । यसै सन्दर्भमा आयोजक इलाम साहित्य समाजका अध्यक्ष कवि प्रकाश थाम्सुहाङसँग संवाद :

इलाम साहित्य समाजका अध्यक्ष प्रकाश थाम्सुहाङ

इलाम साहित्य महोत्सवको खाँचो किन प¥यो  ?

इलाम कला साहित्यका लागि उर्वर भूमि हो । सन्त ज्ञानदिल दास, महानन्द सापकोटा, ताना शर्मा, विष्णु नवीन, युवराज नयाँघरेदेखि पछिल्लो छिमलमा सक्रिय विमल वैद्य, हाङयुग अज्ञात, सुन्दर कुरूप आदि यही माटोकै उपज हुन् । २००९ सालमा महाकवि देवकोटा, इन्द्रबहादुर राईजस्ता महान् लेखक कविहरूको बृहत भेलाबाट इलाम करफोकमा साहित्य सम्मेलन भएको थियो । चालीसको दशकमा इलाम सिर्जनात्मक ऊर्जाले भरिपूर्ण थियो । प्रजातन्त्र प्राप्तिपछि धेरै सुस्ताएको इलामे साहित्य साठीको दशकपछि नयाँ अनुहार र जोस लिएर ब्युँतिएको छ । वैचारिक डिस्कोर्स–चिन्तन युवा मस्तिष्कमा खेलोस भन्ने अभिप्रायले साहित्य महोत्सवको आयोजना गरियो ।

यस्ता महोत्सवले पर्यटनमा कसरी टेवा पु¥याउन सक्छन् ?

लाग्छ, साहित्यले सामाजिक उत्तरदायित्वबोध गर्नुपर्छ । इलाम साहित्य महोत्सव–२०७६ को नारा नै छ, ‘पर्यटनका लागि साहित्य’ । महोत्सवमा चिया पर्यटनको पनि अभ्यास गर्दै छौँ । एउटा सेसन छ, ‘पर्यटनको आयाम’ । राष्ट्रिय–अन्तराष्ट्रिय स्तरका धेरै कवि, लेखक, कलाकार, राजनीतिज्ञ महोत्सवमा सहभागी हुँदै छन् । उनीहरूले इलामको सौन्दर्यपान गर्नेछन् । समाज र जीवनपद्धति नजिकबाट नियाल्ने मौका पाउनेछन् र फर्किंदा अलिअलि इलाम बोकेर जानेछन् ।

अरू महोत्सवभन्दा यो साहित्य महोत्सव कसरी फरक छ  ?

प्लेटोले भनेका छन्, ‘यो पृथ्वी नै नक्कल हो ।’ त्यसैले इलाम महोत्सवलाई अन्य साहित्य महोत्सवको निरन्तरता मानिलिँदा खासै फरक पर्दैन । यद्यपि, यो महोत्सवमा केही बेगलपन छ । त्यो हो, रैथाने विचार, संस्कृति र उत्पादनमाथि यथेष्ट छलफल । अर्को– अन्य महोत्सवलाई लाग्ने गरेको राजधानीपरस्त मानसिकतालाई कम गर्दै मोफसललाई ज्यादा फोकस गरेका छौँ ।

महोत्सवले उठान गर्ने विषयले नेपाली कला–साहित्यमा कस्तो बहस सिर्जना गर्ने अपेक्षा छ  ?

राज्यसत्तापक्षीय अहिलेको साहित्यक गतिविधिले एउटा डिस्कोर्स मागेको छ । नेपाली कला साहित्य फेरि पुरातन चिन्तनमै फर्केको हो ? एकथरीको प्रश्न छ । त्यही प्रश्नमाथि घनीभूत छलफल गर्न हामीले ‘कवि र कविता’ मा राखेका छौँ—सत्ता कि प्रतिपक्ष ? व्याप्त मान्यताहरूले हाम्रो समाजलाई कतातिर लाँदै छ भन्ने चिन्ताले मानकमाथि प्रश्न सेसन जन्मायो । अरू विषय उत्तिकै महत्वपूर्ण छन् । ती विषयमाथि रचनात्मक बहस हुने हाम्रो अपेक्षा छ ।

‘अ’ मा अल्झेको इलामजस्तो सेसनको उद्देश्य के हो ?

अकबरे, अलैँची, अदुवा, ओलन, अम्लिसोजस्ता कृषिजन्य उत्पादनमा अग्रणी छ इलाम । त्यसैले भनिएको होला— इलाम ‘अ’ को भूमि हो । यसो भनिरहँदा हामीलाई लागेको हो, ऐतिहासिक महत्वको चिया ओझेलमा प¥यो कि ? इलाम ‘अ’ मै अल्झिरहने कि समृद्धिको अन्य पाटो पहिल्याउने ? यो सेसनको उद्देश्य यही प्रश्नको उत्तर खोज्नु हो ।

महोत्सवको आर्थिक स्रोत कसरी जुट्यो ?

हाललाई महोत्सवको आर्थिक स्रोत ‘आकाशे खेती’ भनेझैँ अनुमानमा सीमित छ । हामीले स्थानीय निकाय र प्रदेश सरकारमा प्रस्ताव हालेका छौँ । केही व्यक्ति र संस्थामा पनि हाम्रो प्रस्ताव पुगेको छ । वैदेशिक रोजगारमा गएका उदार मनका साथीहरू पनि हामीलाई टेवा दिने खम्बा हुन्, लागेको छ ।

सरकारी सहयोग लिएर सत्तालाई नै प्रश्न गर्दा अप्ठेरो हुँदैन ?

समाजलाई सुन्दर बनाउन सामाजिक न्यायको सिद्धान्तमा आधारित सत्ता सञ्चालन हुनुपर्छ । निहितार्थ सत्तालाई प्रश्न गर्नु हो । अन्ट–सन्ट प्रश्नप्रति भने मेरो विमति छ । सरकारी बजेट हाम्रै करबाट निर्माण भएको हो । सरकारी बजेटले कला, संस्कृति र साहित्यलाई महत्वपूर्ण सम्बोधन गरिनुपर्छ भन्ने हाम्रो जिकिर हो । राज्यसत्ताले गलत गर्छ भने फेरि पनि प्रश्न त गर्ने नै हो ।

महिला सहभागितामा महोत्सवले उति ध्यान दिननसकेको देखिन्छ । अझै पनि महिलाको क्षमतामाथि शंका छ  ?

महिला सहभागिताको दृष्टिले हामी सचेत थियौँ र छौँ । हाम्रो सेसनमा वक्ता र सहजकर्तामा हरसम्भव महिलालाई ठाउँ दिने कोसिस गरेका छौँ । हामीले निमन्त्रणा दिएका धेरै महिला सहभागीसँग समयभाव अवरोध बन्यो । महिला क्षमतामा हामी विश्वस्त छौँ ।

नेपाली साहित्यको ‘मूलधार’ मा मुन्धुमी चेतले बिस्तारै स्थान बनाउँदै गरेको देखिन्छ । तपाईंहरूको बल त्यतातिरै हो ?

साहित्यको मूलधार र वैकल्पिक धारमाथि अलग्गै बहस गर्न सकिएला । तर नेपाली साहित्यमा मुन्धुमी चेतको प्रवेश बीसको दशकमा सर्वोच्च कवि बैरागी काइँलामार्फत भएको हो । कवि भूपाल राई, श्रवण मुकारुङ र सिर्जनशील अराजक कविहरूले पचासको दशकपछि भने अलि घनीभूत रूपमा मुन्धुमी चेत भित्र्याए । कुनै पनि ज्ञानलाई वर्जित गर्नु हुँदैन भन्ने विश्वास राख्छु । वेद, उपनिषद्जस्तै मुन्धुम पनि ज्ञानको बृहत स्रोत हो । यति बेला स्वाभाविक रूपमा मुन्धुमी ज्ञानलाई साहित्यमा प्रविष्ट गराउने अभियानमा लागेका छौँ ।

महोत्सवको लक्षित वर्ग कुन हो  ?

साहित्य र पर्यटनमार्फत समाज सुन्दर र समृद्ध होस भन्ने अभीष्ट राख्ने आममानिस महोत्सवको लक्षित दर्शक हुन् ।

सत्ताको तयारी उत्तरविरुद्ध यो महोत्सवले गर्ने प्रतिप्रश्न के हो ?

नागरिकको लामो संघर्षमार्फत प्राप्त राजनीतिक व्यवस्थालाई सही गन्तव्यतर्फ डो¥याउनु वर्तमान राज्य सत्ताको पहिलो प्राथमिकता हो । कर्तव्यविमुख राज्यलाई प्रश्न गर्नु सबैको दायित्व हो । दायित्वबाट पन्छिन तयारी उत्तरको एन्टिमिसाइल प्रहार गर्नु झनै प्रत्युत्पादक हुनेछ । (कान्तिपुर कोशेलीबाट)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार