‘सूचना प्रविधि विधेयक पारित भए सरकारका ‘अरिंगाल’बाहेक कोही सुरक्षित हुँदैन’

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले अभिव्यक्ति स्वतन्त्रता र अधिकारलाई कुन्ठित गर्ने सरकारको कदमविरुद्ध उत्रिन आह्वान गरेका छन् ।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद थापाले बहुमतको बलमा सूचना प्रविधि विधेयक पास भए सरकारका ‘अरिंगाल’बाहेक कोही पनि सुरक्षित नहुने भन्दै विधेयकविरुद्ध उत्रिन आह्वान गरे ।

उनले प्रस्तावित कानुन संविधान, आन्दोलन र अभिव्यक्ति स्वतन्त्रताविरोधी भएको जिकिर गर्दै विधेयकविरुद्ध बोल्न, लेख्न र जनमत निर्माण गर्न सांसद तथा अभिव्यक्ति स्वतन्त्रता पक्षधरलाई अपिल गरे ।

उनले विधेयकमा सामाजिक सन्जालमा कसैलाई होच्याउने, धम्क्याउने आशयले केही लेखे पाँच वर्ष कैद वा १५ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको भन्दै ‘जिस्क्याउने, झुक्याउने र होच्याउनेको परिभाषा के हो ?’ भन्दै प्रश्न गरे ।

प्रतिपक्ष दलका अर्का सांसद प्रकाश रसाइलीले ‘नेपाल विद्युत् प्राधिकरणले किन चार अर्ब २९ करोड राजस्व उठाउन सकेन ?’ भन्दै प्रश्न गरे ।

विशेष समयमा बोल्दै राप्रपाका सांसद राजेन्द्र लिङ्देनले सरकारले ल्याएको गुठी विधेयक सनातन परम्परा, धर्म–संस्कृति, रीतिरिवाज र पहिचानमाथिको आक्रमण भएको टिप्पणी गरे ।

सत्तारुढ दल नेकपाका सांसद नरबहादुर धामीले राज्यको हेपाहा प्रवृत्तिले जेठ २३ गते कैलाली र कन्चनपुरमा आएको आँधीपीडितले अझै राहत नपाएको आरोप लगाए ।

सांसदहरु केदार सिग्देल, रेखाकुमारी, इन्दुकुमारी शर्मा, मेटमणि चौधरी, गौरीशंकर चौधरीलगायतले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

यसअघि, बैठकको सुरुमै सभामुख कृष्णबहादुर महरासँग विशेष समय लिएर कांग्रेस सांसद लक्ष्मी परियारले धर्म, संस्कृति र परम्पराविरुद्ध आएको गुठी विधेयक फिर्ता लिन सरकारसँग माग गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार