किरातीहरुले धुमधामका साथ उभौली मनाउँदै

  नयाँ बुलन्द
0 Shares

इलाम : किरातीहरुको महान् चाड उभौली पर्व धुमधामका साथ मनाउन थालिएको छ । राई, लिम्बू, याक्खा, सुनुवार र भुजेलले आआफ्नै तरिकाले मनाउन थालेका हुन् । ती समुदायल बिहानैदेखि प्रकृति, देविदेवता र भुमीको पूजा अर्चना सुरु गरेका छन् । यो पर्वमा वालीनाली सप्रियोस, अन्नवालीमा किरा, फट्याङग्रा नलागोस, प्रकृतिमा सहकाल देओस् भन्दै इष्ट देवतासँग पूजा र प्रार्थना गरिन्छ ।

किरात लिम्बू समुदायले किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा इलामको आयोजनामा इलाम नगरपालिका ६ बालनगाउँमा पूजा अर्चनासँगै केलाङ तथा शुभकामना आदानप्रदान र विभिन्न सांस्कृतिक कार्यक्रमको तय गरिएको चुम्लुङले जनाएको छ ।

किरात समुदायले यो पर्वमा प्रकृतिको पूजासँगै मौलिक संस्कृति झल्काउने पोशाकमा सजिने, मीठो खाने, इष्टमित्र छिमेकीलाई बोलाएर मीठो परिकार खुवाउने गर्दछन् । उभौली पर्वको अवशरमा राजधनी सहित किरात समुदायको बसोबास रहेको क्षेत्रमा विशेष कार्यक्रम हुँदैछन् ।

किरात समुदायले उधौली र उभौली गरि दुई पर्व मनाउँछन् । बैशाख पूर्णिमामा उभौली र मंसिर पूर्णिमामा उधौली पर्व मनाइन्छ । उभौलीको अवसरमा किरात समुदायले मौलिक नाचँगान र झाँकी प्रदर्शन पनि गर्ने गर्दछन् ।

यसैगरी लिम्बू समुदायको बहुल्यता रहेको जिल्लाका विभिन्न स्थानहरुमा यक्वा तङनाम मनाउँदै छन् ।

यता किरात राई समुदायले पनि साकेला नाँच, मौलिक पोशाकहरुको प्रदर्शनी र पुजाआजा गरि विभिन्न कार्यक्रमहरुका साथ इलाम नगरपालिका ७ ओपिधारामा साँस्कृतिक कार्यक्रम आयोजना गर्दैछन् । किरात सुनुवार समुदायले इलाम नगरपालिकाको पुवामझुवामा स्थित स्यादरथानमा पुजा गरेर वुरसिल नाँच लगायत कार्यक्रमहरु गरि मनाउने भएका छन् ।

याक्खा समुदायले माइजोगमाइ गाउँपालिकाको नामसालिङमा देवीदेवताको पुजाआजा गरेर सबै इष्टमित्र भेट भएर रमाइलो गर्दै मनाउँदैछन् । भुजेल समुदायले पनि विभिन्न मौलिक संस्कृति झल्काउने कार्यक्रमहरुको साथमा उभौली पर्व मनाउँदै छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार