ढापपोखरी महोत्सवमा पर्यटकको आकर्षण बढ्दो

  नयाँ बुलन्द
0 Shares

इलाम : इलामको सन्दकपुर गाउँपालिका–५ मा पर्ने साबिक जमुना गाविसमा अवस्थित ढापपोखरीमा भइरहेको पाँचौं महोत्सवमा सर्वसाधारणको आकर्षण बढेको छ । ढापपोखरी पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई नौला अनुभव हुनेगरी मनोरञ्जन दिन महोत्सव आयोजना गरिएको हो ।

चारदिनसम्म हुने ढापपोखरी महोत्सवमा सबै दिन दिनभर सांस्कृतिक कार्यक्रमहरू सञ्चालन भइरहेकाले पनि त्यहाँ पुग्ने जो कोहीलाई उमंग थपिएको छ । जमुनामै पहिलोपटक ढापपोखरीमा घोडचडी पनि सुरु गरिएको छ । महोत्सवको अवसर पारेर सूर्योदयन गरपालिकास्थित पर्यटकीयस्थल कन्यामबाट भाडामा दुईवटा घोडा ल्याएर ढापपोखरीमा घोडचडी गराइँदै छ ।

त्यस्तै, ढापपोखरीमा पुग्ने जो कोहीले बल्छीको माध्यमबाट माछा मार्न पाउने र त्यसबाट छुट्टै मनोरञ्जन लिने पनि ब्यवस्था गरिएको छ । शनिबार सुरु भएको पाँचांै ढापपोखरी महोत्सवमा बल्छीबाट फिसिङ गरेर घोडा चडेर मनोरञ्जन लिन सकिन्छ ।

महोत्सवमा घोडा चड्न र माछा मार्न त्यहाँ पुगेका स्थानीय तथा पर्यटकको घुइँचो लागेको थियो । स्थानीय अर्गानिक परिकाहरूसहितको खाजा पसलहरू महोत्सवका अर्को आकर्षण हो । कोदोको रोटी, भुटेको मकै, उसिनेको सखरखण्ड, तोङ्वा, हाते चियापत्ती, छुर्पी, अन्य दुग्धजन्य पदार्थजस्ता विशेषतासहितका खाजा पसलहरू महोत्सवमा रहेका छन् ।

विगत वर्षहरूदेखि नै सञ्चालनमा ल्याइएका पोखरीका डुंगा ढापपोखरी महोत्सवको अर्को आकर्षण हुन् । ढापपोखरीमा डुंगा सवार गरेर मनोरञ्जन लिन चाहनेको पनि घुइँचो लागेको थियो । आयोजकले ढापपोखरी निर्माणका लागि जग्गा दान गर्ने स्थानीय २८ जनालाई सम्मानित जग्गा धनीहरूलाई सम्मान पनि गरेको छ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार