हामी तेस्रो वर्षमा

  नयाँ बुलन्द
0 Shares

नयाँ वर्ष २०७६ को शुभारम्भसँगै नयाँ बुलन्द डटकम दोश्रो वर्ष पूरा गरी तेश्रो वर्षमा प्रवेश गरेको छ । यस अवसरमा हामी हाम्रा समस्त पाठक, दर्शक, संघसंस्था, व्यक्तित्व, विज्ञापनदाता, समाचारदाता लेखरचना र सल्लाह सुझाव दिएर सहयोग गर्नुहुने सम्पूर्ण शुभचिन्तकहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं, शुभकामना व्यक्त गर्दछौं । साथै वार्षिक उत्सवको यो सुखद अवसरमा आगामी वर्षहरुलाई पनि जनपक्षीय पत्रकारिताको बलियो मिडिया निर्माण गर्न नयाँ बुलन्द उस्तै लगन र स्वाभिमानका साथ लागिरहने प्रतिवद्धता पनि व्यक्त गर्दछ ।

प्रारम्भदेखि नै नयाँ बुलन्द डटकमले मुलुकको राष्ट्रिय एकता र भौगोलिक अखण्डता साथै गणतन्त्र, पहिचान, संघीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रको संस्थागत विकासमा पहरेदार बन्नुका साथै स्वतन्त्र पत्रकारिताको धर्म निर्वाह गर्दै समाचार र विचार प्रस्तुतिमा निष्पक्षता अँगाल्दै आएको छ ।

विभेद र उत्पीडनमा परेका र पारिएका समुदाय, वर्ग र क्षेत्रका सबैखाले मुद्धा उजागर गर्दै गरिब, उपेक्षित र सीमान्तकृत जनताको आवाज बोकेर हिँडिने कुनै पनि पाइला सहज हुँदैन । त्यसमा पनि स्रोत र साधनको अभावका बीच मोफसलमा रहेर अनलाइन पत्रिका सञ्चालन गर्न त झनै सजिलो होइन । तथापि अनेक चुनौतीहरुको सामना गर्दै हामी यसलाई निरन्तरता दिन र धेरैभन्दा धेरै पाठक/दर्शक समक्ष पुर्‍याउन लागि रहेका छौं । पाठक/दर्शकले दिनुभएको प्रेरणा र हौसलाबाट नै यति छोटो अवधिमा हामि पूर्वको लोकप्रिय अनलाइनको रुपमा स्थापित हुन सफल भएका छौं ।

थुप्रै असुविधाको बीचबाट सानो टिमले शुरु गरेको नयाँ बुलन्दसँग सुरुवातमा आफ्नै विवेक र पसिनाको बल सिवाय केही थिएन । सबैभन्दा ठूलो शक्ति भनेको आत्मविश्वास र जनताको सत्य बोल्ने साहस हो भन्ने विचारलाई पक्रेर नयाँ बुलन्दले दुई वर्षसम्म संघर्षका असंख्य पाइलाहरु पूर्वेली समाजको हाइवेमा दर्ज गरिरह्यो । संचार विस्फोटको आजको युगमा छापा, टेलिभिजन, रेडियो लगायतका परम्परागत मिडियाको हुलमा  नयाँ बुलन्द अनलाइन मिडिया पनि दर्जनौंको संख्यामा मिसिन आइपुगेको छ । विवध चुनौतीलाई सामना गर्दै नयाँ बुलन्दले जनताको सत्य बोल्ने बलियो शक्ति संस्थागत गरेको तथ्य नेपाली जनताका सामु राख्दा आज हामी गौरवान्वित महसुस गरिरहेका छौं । यसबाट हामी थप उत्साहित भएका हौं ।

हामी कुनै प्रकारका प्रलोभन, लालच र पैसाको असरमा परेर परम्परागत शक्तिको खेलमा कुनै प्रकारको मोहरा बन्ने छैनौं । समाजमा व्याप्त भ्रष्टाचार, कालोबजारी, अनियमितता जस्ता नराम्रा पक्षलाई निरुत्साहित गर्दै सत्य, तथ्य र निष्पक्ष सूचना आम नागरिकसामू निरन्तर बुलन्द गरिरहने छौं ।

हामीले भर्खरै नयाँ बुलन्द अनलाइन टिभी पनि संचालनमा ल्याएका छौं । नयाँ बुलन्दलाई जनपक्षिय पत्रकारिताको एउटा पूर्ण मिडिया बनाउने हाम्रो प्रयत्नको यो एउटा नयाँ पहल हो । नयाँ बुलन्द अनलाइन टिभीलाई हामी छिटै एक बलियो श्रव्यदृश्य मिडियाका रुपमा विकसित गर्ने अभियानमा छौं । वैकल्पिक र जनपक्षिय पत्रकारिताको हाम्रो अविचल प्रयत्नलाई भविश्यमा पनि पाठक, दर्शक, सुभेच्छुक, विज्ञापनदाता लगायत सबैले उसैगरी साथ दिनुहुनेछ भन्ने हाम्रो पूर्ण विश्वास छ । पत्रकारिताको मूल्य मान्यता, देशको प्रचलित संविधान, ऐन, नियम र कानूनलाई आत्मसाथ गर्दै निरन्तर अघि बढ्ने प्रण गर्दछौं ।

दोस्रो वार्षिक उत्सवको यो अवसरमा सबैलाई बधाई तथा शुभकामना !

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार