काठमाडौं : असन्तुष्ट जिल्ला सभापतिहरुले बैठक नै गरेर विशेष महाधिवेशनसम्म जाने चेतावनी दिएपछि नेपाली कांग्रेसभित्रको विवाद तल्लो तहसम्मै पुगेको छ ।
नेतृत्वलाई खुइल्याउने नियतले मात्र बैठक गरिएको भन्दै पार्टी सभापति शेरबहादुर देउवा पक्षधर जिल्ला सभापतिहरुले भने बैठकलाई गाईजात्राको संज्ञा दिँदै कारबाहीको मागसमेत गरेका छन् ।
नेपाली कांग्रेसभित्र शीर्ष तहमा देखिने विवाद खासै नौलो होइन । एउटै झन्डा रहे पनि कांग्रेसभित्र अनेक पार्टी जस्ता देखिने गरी अभिव्यक्ति आउने प्रचलन पुरानै हो ।
तर पछिल्ला दिनमा भने विवादको रुप केन्द्रमा मात्र रहेन ।
अब त्यसको जरा फैलँदै जिल्ला हुँदै वडा तहसम्म पुग्दैछ । असन्तुष्ट सभापतिहरुको नाममा काठमाडौंमा बिहीबार र शुक्रबार भएको बैठकपछि भने पार्टीभित्रको विवाद तल्लो तहसम्म राम्रैसँग पुगेको अनुभव कांग्रसीहरु गर्दैछन् ।
यद्यपी बैठक गर्ने सभापतिहरुले आफूहरुको बैठक गुटको नभई साझा भएको बताइरहेका छन् ।
बैठकमा सहभागी नभएका जिल्ला सभापतिहरुले भने बैठकको औचित्य नै नभएको टिप्पणी गरिदिए ।
देउवा पक्षीय मकवानपुर सभापति इन्द्र बानियाँ केही जिल्ला सभापतिहरु काठमाडौंमा भेला भएर गाईजात्रा देखाएको र त्यसको कुनै अर्थ नभएको टिप्पणी गर्छन ।
बैठकले सवै महाधिवेशन प्रतिनिधि बुथबाटै निर्वाचित भएर आउनुपर्ने र समानुपातिक समावेशी सिद्धान्त एक व्यक्तिका लागि एक पटक मात्र हुनुपर्ने माग कार्यान्वयन नभए विशेष महाधिवेशन बोलाउनेसम्मको निर्णय गरेको छ ।
पार्टीलाई बलियो र सुदृढ बनाउनका लागि यी दुई विषय कार्यान्वनयनमा दबाब दिन मात्र बैठक गरिएको चितवन कांग्रेसका सभापति जितनारायण श्रेष्ठ तर्क गर्छन ।
बैठकको संयोजन गर्ने काठमाडौं कांग्रेसका सभापति सबुज बाँनिया त विशेष महाधिवेशनको कुरै नगरिएको दाबी गर्छन ।
महासमितिमा राखेको साझा विषय कार्यान्वयन गर्नुस् भनेर नेताहरुलाई दबाब दिनका लागि मात्र बैठक गरिएको उनको जिकिर छ । यी दुई मागमा दुवै पक्षका सभापतिहरुको स्वर एकै छ ।
तर नेतृत्वबाट माग कार्यन्वयन नभएपछि आ–आफ्नो गुटको बचाउमा जिल्ला सभापतिहरु लागि रहेकै छन् ।
जिल्ला सभापतिहरुको बैठक अनुशासहीन काम भएको भन्दै मकवानपुर सभापति बानियाँ यसमा सहभागीहरुलाई अनुशासनको दायरामा ल्याउनुपर्ने बताए ।
सत्ता र शक्तिको राजनीतिबाट टाडा पुगेको अनुभूति अझै पनि कांग्रेसी नेताहरुले गरिरहेका छैनन् ।
लोकतन्त्र र स्वतन्त्रताको लडाईंमा गर्विलो इतिहास बनाएको कांग्रेस नराम्ररी जनताबाट तिरस्कृत हुँदासमेत जनताको मन छुने काममा लाग्नुको साटो आफैंभित्रको राप र तापको पिल्सनमा नेतृत्व रमाईरहँदा यसले कांग्रेसको भविष्य त अवश्य राम्रो देखाएको छैन नै, लोकतन्त्रको दीर्घकालीन विकासका लागि समेत राम्रो संकेत छैन ।






















































