डाक्टर गोविन्द केसी बारा र पर्सा हावाहुरी प्रभावित क्षेत्रमा औषधि सहित पुगे

काठमाडाै :  वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डाक्टर गोविन्द केसी बारा र पर्सा हावाहुरी प्रभावित क्षेत्रमा औषधि सहित पुगेका छन्। डा. केसी औषधिसहित सोमबार नै बारा पुगेर हावाहुरी प्रभावित ठाउँमा पुगेर घाइते बिरामीहरूको उपचार गरिरहेका बताइएको छ।

डा. केसीले हावाहुरीले अति प्रभावित क्षेत्र बाराको फेटामा स्वास्थ्य शिविर सञ्चालन गरिरहेका छन्। पेशाले हाडजोर्नी विशेषज्ञसमेत रहेका डा. केसीले केही औषधिसहित हावाहुरी प्रभावित क्षेत्रमा पुगेर घाइतेको उपचार गरिरहेको उनका सहयोगीहरूले बताएका छन्।

आइतबार साँझ आएको हावाहुरीका कारण बारामा मात्रै ६ सय ६३ जना घाइते भएका छन् भने घटनामा २७ जनाको मृत्यु भएको छ। घटनामा परी बारा र पर्साका एक हजार ४४ जना घाइते भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

उनीहरूमध्ये ३ सय ३३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने अन्य घाइतेहरू अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। त्यस्तै काठमाडौंको शिक्षण अस्पतालमा ८ जनाको उपचार भइरहेको अस्पतालले जनाएको छ।
– थाहा खबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार