बारा : प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापाका पूर्वनिर्धारित् कार्यक्रम स्थगित गरेर हावाहुरी प्रभावित क्षेत्रको निरीक्षणका लागि बारा आएका छन् ।
उनी बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रको निरीक्षणमा आएका हुन् । उनी सोमबार दिउँसो झापाको भद्रपुरबाट बाराको सिमरा विमानस्थल हुँदै कलैया आइपुगेका हुन् ।
सोक्रममा प्रधानमन्त्री ओलीले राहत र उद्धारमा कुनै समस्या हुन नदिन निर्देशन दिए । प्रधानमन्त्री ओलीलाई बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले घटनाबारे जानकारी गराएका थिए ।
आइतबार साँझ पौने ८ देखि सवा ८ बजेसम्म आएको हावाहुरीले अहिलेसम्म २७ जनाको निधन भएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।
हावाहुरीले बाराका कलैजा उपमहानगरपालिकासहित महागढीमाई नगरपालिका, पचरौता नगरपालिका, प्रसौनी गाउँपालिका, फेटा गाउँपालिका, सुवर्ण गाउँपालिका, परवानीपुर गाउँपालिकामा धनजनको क्षति भएको जनाइएको छ ।
प्रधानमन्त्री ओलीसँगै उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापालगायत छन् ।