इलाम : फाकफोकथुम गाउँपालिकाअन्तर्गत साविक फाकफोक गाविसका प्राविधिक लक्ष्मी शर्मा अहिले वडा सचिवको काम गर्छन् । वडामा उनले वडासचिव र प्राविधिक दुवैको जिम्मेवारी सम्हालेका छन् ।
त्यस्तै फाकफोकथुम–१ ठिंगेपुरमा तिलरूपा राई वडा सचिवको जिम्मेवारी सम्हालिरहेका छन् । गरिबसँग विशेश्वर कार्यक्रमकी सामाजिक परिचालक राईले वडा सचिवको भूमिका निर्वाह गरिरहेका हुन् ।
गाउँपालिका घोषणा भएको झण्डै दुई वर्ष पुग्नै लाग्दा पनि जिल्लाको दुर्गम फाकफोकथुम गाउँपालिकाका सात वटा वडामध्ये तीन जना सचिव छन् । वडा नं. ६ र ७ मा सुमन खडका, वडा नं. ४ र ५ लेखबहादुर नेम्वाङ र वडा नं. ३ का तिलविक्रम लिम्वू सचिवका साथै गाउँपालिकाको स्टोरको समेत काम गर्छन् ।
वडा सचिवले दुई तिरको जिम्मेवारी निर्वाह गरिरहेका छन् । जस्ले गर्दा दैनिक कार्यसम्पादनमा पनि समस्या भएको छ ।
छिमेकी माङसेबुङ गाउँपालिकाको साविक इभाङ गाविसमा प्राविधिक पुस्कर कार्की अहिले वडा सचिवको पनि काम गर्छन् ।
प्राविधिक र अन्य काम गर्दै आएकाले वडा सचिव चलाउनु पर्दा समस्या भएको साविकका बाँझो, इभाङ र गजुरमुखीलाई मिलाएर बनेको यो सिंगो गाउँपालिका नै कर्मचारी अभावका कारण समस्यामा छ । वडा सचिव चलाउनेमा अरू दुई जना पशु कार्यालयवाट गएका कर्मचारी छन् । प्राविधिक काम गर्दै आएकाहरूले सचिव र प्राविधिक दुवै काम गर्नुपर्छ । ‘हाम्रो जिम्मेवारी भन्दा फरक काम गर्नु परेपछि समस्या भएको छ,’ वडा नं. ३ का प्राविधिक पुस्कर कार्कीले भने, ‘जसोतसो काम त चलाइएकै छ तर छिटो छरितो ढंगबाट सेवा दिन भने कठिन छ ।’
योजनाको काम सकेर आएकाले समयमा भुक्तानी नपाउने, योजनाकै डिजाइन र स्टमेट गर्ने काममा ढिलाई हुने जस्ता धेरै समस्या वडावासीले झेल्नु परिरहेको छ ।
सिंहदरबारको अधिकार गाउँमा पुगेपनि कर्मचारी र भवन अभावमा यहाँका बासिन्दाले सास्ती खेप्नुपरेको छ । गाउँपालिकाका अधिकांश वडा नयाँ भएकाले वडा भवन नहुँदा भाडाको घरमा मुस्किलले चलाउनु पर्ने बाध्यता छ ।
फाकफोकथुम गाउँपालिकामा पर्याप्त कर्मचारी छैनन् । ‘गाउँपालिकाको क्षेत्र ठूलो र कर्मचारी कम हुँदा काम गर्नै कठिन भएको फाकफोकथुम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदी बताउँछन् ।
‘योजना छनौटदेखि डिजाइन स्टमेट र भुक्तानीसम्म नै प्रभावित भएपछि कार्य योजना अनुसार विकासका गतिविधि बढाउन कठिन छ,’ उनले भने, ‘जुन जाँगरले काम अगाडी बढाउने योजना थियो कर्मचारी अभावकै कारण समस्या हुँदै आएको छ ।’ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत, ईञ्जिनियर, अधिकृतसहित ३३ वटा स्वीकृत दरबन्दी रहेपनि हाल तीन जना अधिकृतसहितका १६ वटा दरबन्दी खाली रहेको प्रशासकीय अधिकृत सुवेदीले बताए । सरकारले कर्मचारी समायोजन गरे पनि अहिलेसम्म यस गाउँपालिकामा कोही पनि कर्मचारी आएका छैनन् ।
जतिसक्दो चाँडो कर्मचारीको व्यवस्थापन गरेर कार्य सम्पादनलाई सहज बनाउन माग गरे पनि सुनुवाई नभएको उनी बताउँछन् । करिब १० करोड विकास खर्च रहेको यस गाउँपालिकामा अहिलेसम्म १० प्रतिशत मात्र प्रगति भएको छ । केही योजना कार्यन्वयन चरणमा रहेको गाउँपालिकाले जनाएको छ ।