कैलाली : साढे तीन वर्षअघि कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनालाई धेरैले बिर्सन सकेका छैनन् ।
संघीयतामा थरुहट प्रदेशको माग गर्दै चर्किएको आन्दोलनले हिंसाको रुप लिंदा एसपीसहित सात सुरक्षाकर्मी र एक नाबालकको हत्या भएको थियो ।
संविधानसभाबाट संविधान जारी गर्ने तयारी अघि बढिरहेका बेला २०७२ साल भदौ ७ गते कैलालीको टीकापुरमा भएको घटनाले अहिलेपनि धेरैलाई झस्काउने गर्दछ ।
कैलाली र कन्चनपुरसहितको बेग्लै थरुहट प्रदेश माग गर्दै आन्दोलन चलिरहेकोमा भदौ ७ गते निषेधाज्ञा तोड्दै आन्दोलनकारीले गुलेली, भाला, लाठी र बन्चरोलगायतका घरेलु हतियारले सुरक्षाकर्मीमाथि आक्रमण गरेका थिए ।
दिउँसो १ बजेदेखि साँझसम्म भएको झडपमा प्रहरी आन्दोलनकारीको घेरामा परेका थिए । उनीहरुले प्रहरीमाथि खुकुरी, भाला र बन्चरोलगायत हतियार प्रहार गरेका थिए ।
जसमा नेपाल प्रहरीका सेती अञ्चल प्रमुख एसएसपी लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षक बलराम विष्ट र केशव बोहरा, हवल्दार लक्ष्मण खड्का तथा प्रहरीजवान लोकेन्द्र चन्दको मृत्यु भएको थियो ।
त्यस्तै, घटनामा सशस्त्र प्रहरीका हवल्दार ललित साउद र जवान रामविहारी चौधरीको पनि ज्यान गयो ।
घटनामा सशस्त्र प्रहरी हवल्दारका दुईवर्षीय छोरा टेकबहादुर साउदको पनि हत्या भएको थियो ।
आन्दोलनकारीलाई सम्झाइरहेका एसएसपी न्यौपानेलाई पछाडिबाट भाला प्रहार गरी हत्या गरिएको थियो ।
घटनामा ५० भन्दा बढी सुरक्षाकर्मी र केही आन्दोलनकारी घाइते भएका थिए ।