इलाम : इलाम नगरपालिकाले विद्यार्थी संख्या न्युन भएका चारवटा विद्यालयलाई गाभ्ने भएकोे छ । नगर कार्यपालिकाको बैठकले इलाम नगरपालिका ७ का दुई र ९ का दुई वटा विद्यालयलाई एकआपसमा गाभ्ने निर्णय गरिएको प्रवक्ता ठाकुरनारायण श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार इलाम नगरपालिका वडा नम्बर ७ को बालमन्दिर आधारभूत विद्यालय (आवि) लाई वडा नम्बर ७ कै आदर्श आविमा र वडा नम्बर ९ पोखरी आविलाई वडा नम्बर ९ कै भगवती माविमा गाभ्ने भएको छ ।
त्यस्तै साविक बालमन्दिर आविमा दृष्टिविहीनका लागि सञ्चालित आवासीय विशेष कक्षालाई व्यवस्थित गर्दै नमुना दृष्टिविहीन विद्यालय बनाउने उद्देश्यले साविक पोखरी आवि रहेको स्थलमा सामुदायिक विद्यालयकै रुपमा शैक्षिक सत्र २०७६ देखि पोखरी दृष्टिविहीन आविको नामबाट आधारभूततह (कक्षा १ देखि ८) सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।
नगरपालिकाले नगरक्षेत्रभित्र निश्क्रिय सहकारी संस्थाहरुलाई थप कानुनी कार्वाहीको प्रक्रियामा लैजाने भएको छ । आर्थिक वर्ष २०७४÷०७५ को विवरण नबुझाएका र तोकिएको म्यादमा बुझाउनुपर्ने प्रतिवेदन नबुझाएका सहकारी संस्थाहरुलाई कारवाही गरिने नगरपालिकाले जनाएको छ ।
यसैगरी नगरक्षेत्रमा समाज परिचालनको माध्यमद्वारा लक्षित समुदाय तथा विपन्न वर्गमा उद्यमशीलता अभिवृद्धि गर्दैे जीवनस्तरमा सुधार ल्याउन सहरी सुशासन अभिवृद्धि तथा गरिबी न्यूनीकरण गर्र्न र सशक्तीकरण गर्दै समृद्ध नगर बनाउने अभियानका विविध कार्यक्रम कार्यान्वयनका लागि “इलाम नगरपालिका, गरिबी निवार णतथा सामाजिक परिचालन कोष सञ्चालन कार्यविधि, २०७५” स्वीकृत गरी कार्यान्वयन गर्ने भएको छ ।
इलाम नगरपालिका अन्तर्गत अपाङ्गता स्थानीय समन्वय समितिको मिति २९ पुस २०७५ को निर्णयानुसार १२ वटै वडामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अपाङ्गता परिचयपत्र वितरण कार्यविधि, २०७५ का आधारमा अपाङ्गता भएका व्यक्तिसँग प्रहरीको एक दिने कार्यक्रम संचालन गर्ने भएको छ ।
कार्यविधिका मुख्यमुख्य बुँदाहरु, अपाङ्गता भएका व्यक्तिप्रति हुने हिंसा÷अपराध न्यूनीकरणका उपायहरु, अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकार तथा सरकारी पक्षबाट प्रत्याभूत गरिएका सुविधा, अपाङ्गता भएका व्यक्तिहरुले विपद्का समयमा अपनाउनु पर्ने सुरक्षा नियम तथा ट्राफिक ज्ञान, अपाङ्गता भएका व्यक्तिहरुको गुनासो संकलन लगायतका विषयवस्तुमा आधारित रही जिल्ला प्रहरी कार्यालय, करुणा फाउण्डेसन र वडाकार्यालयको सहयोगमा ६ देखि १९ चैतसम्म कार्यक्रम संचालन गर्ने भएको छ ।