काठमाडौं : नेपाली कांग्रेसमा गुटगत स्वार्थ हावी हुँदा भ्रातृसंगठनको किचलो, अनुशासन र निर्वाचन समिति टुंगो लगाउने विषयमा अन्योल बढ्दै गएको छ ।
गुटगत स्वार्थको असरले कांग्रेसको समग्र गतिविधि नै प्रभावित बनेको छ ।
विभाग र समिति गठन प्रक्रिया सुरु भएसँगै कांग्रेसभित्रको कलह झनै चुलिएको छ ।
विभाग प्रमुखहरु र समितिमा गुटगत स्वार्थ हावी हुनखोज्दा कांग्रेसको बैठक नै अनिश्चित बनेको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी निर्णय गर्न खोजेको आरोप रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षको छ ।
बैठकमा अनुशासन र निर्वाचन समिति गठनमा पार्टी सभापतिले आफ्ना पक्षका नेतालाईमात्र मानोनीत गर्न खोजेपछि टकराब बढेको उनीहरुको आरोप छ ।
कांग्रेसको महाधिवेशन भएको पनि तीन वर्ष पुगिसकेको छ । तर, विधानअनुसार पार्टी चल्न सकेको छैन ।
देउवापक्षीय नेताहरुले भने पौडेल समूहले सहयोग नगरेको आरोप लगाइरहेका छन् ।
अनुशासन र निर्वाचन समिति गठनमा पौडेल समूहबाट नाम नआउँदा ढिलाइ भएको देउवा पक्षको दाबी छ ।
तर, पौडेल पक्षका नेताहरु भने सहमतिमा अगाडि बढ्ने सहमति संस्थापन पक्षबाटै उलंघन भएको बताउँछन् ।
वैचारिकभन्दा पनि गुटगत बहस हावी हुँदा पार्टीमा बेमेल बढ्दै गएको उनीहरुको बुझाइ छ ।
नेपाली कांग्रेसभित्र निर्वाचन र अनुशासन समिति न्यायिक र महत्वपूर्ण समिति मानिन्छ । यस्ता समितिमा आफ्ना पक्ष हावी हुने दाउपेचकै कारण अडानबाट पछि हट्न कोहीपनि तयार देखिँदैनन् ।