धार्मिक पर्यटकीय स्थल बन्दै रूपाटार

इलाम : फाकफोकथुमको रूपाटारमा निर्माण भएको किरात मन्दिर उद्घाटन गरिएको छ । प्रदेश १ का अर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्वोले नवनिर्मित मन्दिरको उद्घाटन गरेका हुन् ।

त्यस अवसरमा किरात धर्म गुरु आत्मानन्द लिङदेनसहितका धर्मानुरागी तथा सरोकारवालाको उपस्थिति थियो । धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले चार वर्षअघि निर्माण सुरु भएको मन्दिरको थप कार्यका लागि प्रदेश सरकारले समेत सघाउने भएको छ । मन्दिर उद्घाटन गर्दै मन्त्री आङ्वोले विभिन्न धर्मावलम्बीको आस्थाको कदर गर्दै सामाजिक सद्भाव र धार्मिक एकता कायम गर्न प्रदेश सरकार प्रयासरत रहेको बताए ।

त्यस क्षेत्रमा रहेको गुफा र रमणीय स्थान भएकाले स्थानीयले धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना बनाएर काम थालेका हुन् । स्थानीयले चन्दा संकलन गरेर नै २०७१ फागुन १५ देखि यो स्थानमा मिन्दर निर्माण थालिएको हो । गजुरमुखी धामबाट करिब ५ किलोमिटर उत्तरमा रहेको रूपाटार क्षेत्र रमणीय रहेकाले स्थानीयले ठूलो मेहनत गरेका हुन् ।

स्थानीय बुढाथोकी परिवारले प्रदान गरेको निःशुल्क जग्गासहित बाँकी जमिन खरिद गरेर निर्माण थालिएको हो । मन्दिर परिसरमा बारबेरा लगाउने, मन्दिरलाई थप व्यवस्थापन गर्ने, बगैंचा निर्माण गर्ने, नजिकैको गुफा र देवीस्थानलाई संरक्षण गर्ने, राष्ट्रिय विभूति माहागुरु फाल्गुनन्दको सालिक निर्माण गर्ने, ध्वनि कुण्ड निर्माणलगायत काम आगामी योजनामा रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पञ्च योङहाङले जनाए ।

‘अब प्रदेश सरकारवाट प्राप्त हुने रकमबाट यी काम पूरा हुनेछन्,’ उनले भने, ‘अहिलेसम्म प्राप्त स्रोत अपुग हुँदा स्थानीयले मात्रै सबै काम सम्पन्न गर्न कठिन भइरहेको छ ।’ सदरमुकाम इलाम बजारबाट करिब ४५ किलोमिटर पश्चिममा अवस्थित यो क्षेत्रमा बसोबास गर्ने लिम्बू समुदायसहित अन्य जातजातिले पनि यसलाई पवित्र धार्मिकस्थलका रूपमा लिँदैपूजा–अर्चना गर्ने गरेका छन् । मन्दिर क्षेत्रसम्म पुग्ने सडक अभाव भएको अवस्थामा गाउँपालिकाका अध्यक्ष राम श्रेष्ठले २ लाख रुपैयाँ बराबरको निजी खर्चमा सडकको ट्र्याक पुर्‍याएका छन् ।

मन्दिरमा विभिन्न धार्मिक उत्सवमा श्रद्धालुहरू सामूहिक पूजाका लागि आउने गरेका छन् । २ रोपनी १२ आना जमिनमा मन्दिर क्षेत्र फैलिएको छ । मन्दिर निर्माणका लागि यामबहादुर र श्रीप्रसाद बुढाथोकीले ८ आना जग्गा निःशुल्क प्रदान गरेका हुन् । किरात धर्म संस्कृतिको अध्ययन अनुसन्धानसमेत गर्दै त्यस क्षेत्रका पर्यटकीय र धार्मिक महत्त्वको स्थानको संरक्षण र प्रचार गर्ने उद्देश्य छ ।

हालसम्म निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम, वडा कार्यालय र धर्मप्रेमी दाताको प्रयासमा मन्दिर यो अवस्थामा आएको हो । तर स्थानीयको योजनाअनुसार यस क्षेत्रको विकासमा पर्याप्त सहयोग नहुँदा थालेका कतिपय काम पनि अलपत्र अवस्थामा छन् ।

किरात धर्मस्थल माङ्सेबुङबाट करिब ३० किलोमिटर उत्तरमा रहेको रूपाटारलाई माङसेबुङसँगै जोडेर विकास गर्ने स्थानीयको योजना छ । माङसेबुङसँगै नजिकै देउमाई नगरपालिकाको धुसेनीमा रहेको जटेश्वर महादेव स्थान र राष्ट्रिय विभूति फाल्गुनन्दले स्नान गरेको रूपाटरस्थित नाबु क्षेत्र, प्रसिद्ध धार्मिकस्थल गजुरमुखीसमेतलाई समेटर धार्मिक पर्यटकीय गन्तव्य बनाउने योजना समितिको रहेको छ ।

योजना अनुसार सबै काम सम्पन्न गर्न कम्तीमा अढाई करोड रुपैयाँ आवश्यक रहेको समितिले जनाएको छ । महागुरु फाल्गुनन्दको जन्म जयन्ती, धर्मगुरु आत्मानन्दको जन्मोत्सव, समाज सुधार दिवसलगायत उधौली, उभौली, चैतमा आउने किरात नयाँवर्षको अवसरमा यहाँ विशेष कार्यक्रम आयोजना हुने गरेका छन् ।

‘यो स्थानलाई गाउँपालिकाकै मुख्य धार्मिक र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने हाम्रो पनि योजना छ,’ गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठले भने, ‘गाउँपालिकाको स्रोत मात्र पर्याप्त नहुने भएकाले प्रदेश र केन्द्र सरकारले पनि यसलाई प्राथमिकता दिनुपर्छ ।’ कान्तिपुर दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार