कांग्रेस विधानको टुंगो कहिले ?

काठमाडौं : नेताहरुको स्वार्थ बाझिएपछि नेपाली कांग्रेसको विधानले अन्तिमरुप पाउन सकेको छैन ।

महासमिति बैठकले पारित गरिसके पनि शीर्ष नेताहरुको स्वार्थ नमिल्दा विधानलाई अन्तिमरुप दिन ढिलाइ हुँदै जाँदा अन्योल सिर्जना भएको छ ।

गत पुसको पहिलो साता सम्पन्न नेपाली कांग्रेसको महासमिति बैठकले अनुमोदन गरेको विधानलाई कांग्रेस केन्द्रीय समितिले अझै पारित गर्न सकेको छैन ।

विधान पारित गर्न पटक–पटक केन्द्रीय समितिको बैठक बसेपनि नेताहरुको स्वार्थ बाझिएपछि अन्योल हुँदै आएको छ ।

महासमिति बैठकमा पार्टीका सबै तल्लो तहबाटै महासमिति सदस्य चुनिने व्यवस्था विधानमा राख्ने सहमति भएको थियो ।

तर, केन्द्रीय समितिमा सबै महाधिवेशन प्रतिनिधि तल्लो तहबाट चुनिने कि निश्चित व्यक्ति सीधै प्रतिनिधि बन्न पाउने भन्नेमा शीर्ष नेताहरुबीच नै मतभेद छ । यसले गर्दा पटक–पटक बसेको कांग्रेस केन्द्रीय समिति अनिर्णीत बन्दै आएको छ ।

केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले पार्टीको विधान र नेपाल विद्यार्थी संघको महाधिवेशनको विषय केही दिनभित्रै टुंगो लाग्ने बताए ।

केन्द्रीय सदस्यहरुले महाधिवेशन भएको तीन वर्ष पुग्नै लाग्दासमेत पार्टी सभापति शेरबहादुर देउवाले पार्टीका विभागसमेत गठन गर्न नसकेको आरोप लगाएका छन् ।

उनीहरुले सदस्यता वितरण तथा जिल्ला अधिवेशन सुरु गर्न माग गरेपनि सभापति देउवाले वास्ता गरेका छैनन् ।

केन्द्रीय सदस्यहरुले प्रादेशिक संरचनामा पार्टीलाई रुपान्तरण गर्न नसकेको, स्थानीय तहमा पार्टी समितिको समायोजन प्रक्रिया अघि नबढेको र सरकारको गलत कार्यशैलीको विरोध नगरेको आरोप लगाएका छन् ।

कांग्रेसमा अझैपनि संस्थापन र संस्थापनइतरका समूहबीच आ–आफ्नो स्वार्थले काम गरेको देखिएको छ ।

सभापति देउवा आफू बलियो बन्ने कसरतमा छन् भने पौडेल पक्ष त्यसको प्रतिरक्षामा छ । जसले गर्दा विधान र भ्रातृसंगठनको निर्वाचनलगायतका विषय अझै टुंगो लाग्न सकेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार