इलाम : केही समय अघि अभिभावकहरूले आफ्ना छोराछोरी ४/५ वर्ष पुग्दै स्कुलमा भर्ना गर्दा हतार गरेको भन्ने समाज अहिले कुनै बच्चा दुई वा अढाई वर्ष पुगे स्कुल भर्ना किन नगरेको भनेर प्रश्न गर्ने भएका छन् । यसले पछिल्लो समयमा साना बालबालिकाहरूलाई सिक्ने र सिकाउने मन्टेश्वरी शिक्षा पद्धति प्रभावकारी बन्दै गएको पुष्टि गर्छ ।
छोटो समयमा नै मन्टेश्वरी पद्धतिबाट पढाइ हुने विद्यालयमा भर्ना गरिएका बालबालिकामा आएको परिर्वतनका कारण अभिभावकहरूको आँखामा अहिले यो पद्धति लोकप्रिय बन्दै गएको हो । इलाम सदरमुकाममा ३ वर्ष अघिदेखि संचालनमा आएको माईभ्याली मन्टेश्वरी विद्यालय यसको प्रत्यक्ष उदाहरण हो । सदरमुकाममा रहेका कामकाजी व्यक्तिहरुको पहिलो रोजाईमा रहेको यस विद्यालयमा अवलम्बन गरिने शैक्षिक पद्धतिमा झुम्एिका छन् । सरकारी कार्यालय, गैरसरकारी संस्था, प्रहरी सेवामा काम गर्नेहरु मात्रै हैन व्यापार व्यवसायमा संलग्न व्यवसायीहरु पनि आफ्ना बालबच्चालाई मन्टेश्वरीमा पढ्न प्रेरित भईरहेको भेटिन्छ ।
इलाम जिल्लामा नैं पहिलो र एकमात्र मन्टेश्वरी पद्धतिको विद्यालय भएको दाबी गर्छिन, माइभ्याली मन्टेश्वरी विद्यालयकी संचालिका सुनिता कर्मचार्य । उनका अनुसार यो विद्यालय वि.सं.२०६९ देखि चाईल्ड केयर सेन्टरको रुपमा स्थापित भएको र वि.सं.२०७२ सालको महाभुकम्प पश्चात यसलाई विद्यालयको स्वरुप प्रदान गरिएको हो । यस विद्यालयमा हाल ‘टोडलस’, ‘प्ले ग्रुप’, ‘प्रि–नर्सरी’का कक्षाहरुमा करिब ५५ जना भन्दा बढी बालबच्चाहरु अध्ययन गरिरहेका छन् । आगामी शैक्षिक सत्रदेखि कक्षा १, २ पनि संचालन गर्ने विद्यालयको लक्ष्य रहेको संचालिका कर्मचार्यले बताईन । यस विद्यालयमा आफ्नो नानीलाई अध्ययन गराउँदै आएकी सबिता श्रेष्ठको अनुभवमा मन्टेश्वरीमा दिइने शिक्षाले बालबालिकामा राम्रो संस्कार र स्वाबलम्बी बनाउन सिकाउँछ ।
बालबालिकाको चौतर्फी विकास गर्ने उद्देश्यले सञ्चालन भएका मन्टेश्वरीमा राखिने हरेक सामानको वैज्ञानिक अर्थ हुने मन्टेश्वरी विज्ञहरू बताउँछन् । बालबालिकाले खेल्ने खेलौनाअनुसार पनि विभिन्न अर्थ हुन्छन् र सोही अनुसार उनीहरूले ज्ञान प्राप्त गर्छन् । यो खेल्दै, सिक्दै पढ्ने थलोको रूपमा परिचित भइसकेको छ । यस्तै इलामस्थित एक सरकारी कार्यालयमा कार्यरत लक्ष्मी श्रेष्ठ सुरुमा सम्पन्न परिवारका बच्चालाई भुलाउन खोलिएको जस्तो लाग्ने मन्टेश्वरी स्कुल अहिले सबै बालबालिकाको लागि अनिवार्यजस्तै बनेको बताउँछिन् । यस्तै जिल्ला प्रहरी कार्यालय इलाममा कार्यरत मन्दा पौड्ेल भन्छिन्– सुरुमा मन्टेश्वरीतिर त्यति रुची नभए पनि मन्टेश्वरीमा जान थालेको केही समयदेखि नै आफ्नो नानीमा धेरै सकारात्मक परिवर्तन देखिन थालेपछि मन्टेश्वरी शिक्षा प्रणालीप्रति आफू निकै प्रभावित भएको बताउछिन् ।
कस्तो हुन्छ मन्टेश्वरी शिक्षा ?
मारिया मन्टेश्वरी इटलीमा मेडिसिन अध्ययन गर्ने पहिलो महिला हुन् । उनले रोम विश्वविद्यालयबाट सन्१८९६ मा मेडिसिन संकायमा स्नातक गरेकी हुन् । चिकित्सक भएका कारण उनी लामो समयसम्म बालबालिकाको सम्पर्कमा रहिन् । उनी बालबालिकाको विकासमा अभिप्रेरित भइन् । आफ्नो अध्ययनको क्रममा उनले बालबालिकाले आफ्नो वातावरणसँग अन्तरक्रिया गरी आफ्नो व्यक्तित्व निर्माण गर्न सक्छन् भन्ने कुरा पत्ता लगाइन् ।
सामान्यतया ३ देखि ६ उमेर समूहका बालबालिकालाई खेलौनाका माध्यमबाट खेल खेलाउँदै सिकाउने पद्धतिलाई मन्टेश्वरी शिक्षा पद्धति भनिन्छ । २० औं शताब्दीमा इटालीकी एजुकेटर तथा फिजिसियन मारिया मन्टेश्वरीले सुरुवात गरेको यो शिक्षण पद्धति अहिले संसारभर लोकप्रिय भएको छ ।इटालीका मारिया मन्टेश्वरीले पहिलोपटक विकास गरेको शिक्षण विधिबाट पढाइने शिक्षा नै मन्टेश्वरी शिक्षा हो । मन्टेश्वरी बालबालिकालाई मनोरञ्जनात्मक वातावरणमा शिक्षा दिने विधि हो । मनोरञ्जनात्मक, सृजनात्मक र प्रयोगात्मक मानिने मन्टेश्वरी शिक्षा पछिल्लो समयमा प्रभावकारी मान्दै आइएको छ ।
मन्टेश्वरी शिक्षा बालबालिकाले खेल्दा—खेल्दै आफैँ ज्ञान बटुल्ने शिक्षण विधि रहेको छ । मन्टेश्वरीमा बालबालिकाको मनोविज्ञान बुझेर प्रत्येक विद्यार्थीको क्षमता पहिचान गरी अध्यापन गराइन्छ ।मन्टेश्वरीमा विद्यार्थीलाई खेलौनाको माध्यमबाट क्षमता पहिचान गरी सिकाइन्छ । यसको महत्वपूर्ण पक्ष भनेको ३ वर्षदेखि ६ वर्षम्म उमेरका बालबालिकालाई एकै ठाउँमा राखेर सिकाउने नै हो । खेलौना, चित्र र कलरहरूको माध्यमबाट रमाइलो वातावरणमा साना बालबालिकाले ठूलो उमेर समूहमा बालबालिकालाई हेरेर सिक्ने मौका पाउँछन् ।मन्टेश्वरी शिक्षण विधिमा शिक्षिका सहयोगी मात्र मानिन्छ ।
बालबालिकालाई एकपटक सिक्ने वातावरणमा परिचय शिक्षिकाले गराएपछि बालबालिकाले आफ्नै स्वतन्त्रतामा सिक्ने माईभ्याली मन्टेश्वरीकी शिक्षिका रुपा राई बताउँछिन् ।उनी भन्छिन् ‘मन्टेश्वरीमा शिक्षिकाले सिकाउने नभईकन अभिमुखीकरण गराउने हो । बाल मनोविज्ञानमा आधारित शिक्षा दिने मन्टेश्वरी विधिमा बालबालिकालाई प्रत्यक्ष रूपमा विभिन्न क्रियाकलापमा सहभागी बनाएर सिकाउने गरिन्छ ।’
उनका अनुसार मन्टेश्वरी पद्धतिअनुसार बालबालिकाले स्वतन्त्र रूपमा आफ्नै अनुभवबाट शिक्षा ग्रहण गर्ने गर्छन् । बालबालिका कक्षामा अतिरिक्त क्रियाकलाप योगा, संगीत, नृत्यमा सहभागी हुन्छन् र हेरेर, छोएर, महसुुुुस गरेर शिक्षा हासिल गर्छन् ।परम्परागत रूपमा सिकाउने विधिमा शिक्षकले सिकाउने, विद्यार्थीले सुन्ने मात्र गरिन्छ तर मन्टेश्वरीमा सिक्ने सिकाउने बालबालिका स्वयम आफैँले गर्छन् ।
शब्द/तस्वीर : राजेश पराजुली