इलाम : इलाम नगरपालिका वडा नम्बर ९ स्थित गोलाखर्कमा रहेको बाल अनाथालयको नयाँ भवन निर्माण कार्य सुरु भएको छ ।
अनाथलयको पुरानो भवन जीर्ण र अव्यवस्थित रहेकोले नयाँ भवन निर्माण सुरु गरिएको भवन निर्माण स्रोत व्यवस्थापन समितिका संयोजक चन्द्रबहादुर हाङखिमले जानकारी दिए ।
भवन निर्माणका लागि हाङखिमको संयोजकत्वमा “राहसल भवन निर्माण स्रोत व्यवस्थापन समिति” गठन गरी विभिन्न क्षेत्रबाट आर्थिक स्रोत संकलन भएरहेको छ ।
नयाँ भवन निर्माणको लागि घडेरी सम्याउने र पिलरको लागि डोब खन्ने कार्य सम्पन्न भएको छ । भवन निर्माण कार्यलाई पूरै अभियानकै रुपमा अगाडी बढाईको छ । भवनलाई निर्माण गर्नको लागि करिव ५० देखी ६० लाख रकम लाग्ने स्रोत व्यवस्थापनका संयोजक हाङखिमले बताए ।
‘अहिलेसम्म हामीले ५ लाख रकम मात्र समितिको खातामा जम्मा गरेका छौँ अन्य बाँकी रकम जुटाईरहेका छौँ’ संयोजक हाङखिमले भने, ‘अहिलेसम्म जुटेको रकमले भवनको जग हाल्ने कार्यसम्म मात्र पुग्नेछ ।’
आगामी २७ माघमा वसन्त पञ्चमीको अवसरमा भवनको शिलान्याश गर्ने संयोजक हाङखिमले जानकारी दिए । समितले आर्थिक सहयोग संकलन अभियानलाई तीब्रता दिने हाङखिमले बताए ।
भवन निर्माणको लागि सहयोगको अपिल
स्रोत व्यवस्थापन समितिले भवन निर्माणको लागि आर्थिक सहयोगको अपिल गरेको छ । काम सुरु गरेपनि आर्थिक अभाव रहेको जनाउँदै समितिले सहयोगीहरुलाई अपिल गरेको हो ।
समितिले इलामको बाल सनराईज बैंकमा अनाथालयको नाममा बैंक खाता नम्बर ०१२०४९६४०७०१००१ मा रकम जम्मा गरेर सहयोग गरिदिन अनुरोध गरेको छ ।