इलामका पूर्व जनमुक्ति सेना संगठित, सुवेदीको अध्यक्षतामा जिल्ला समिति गठन

  नयाँ बुलन्द
21 Shares

इलाम : दश वर्षे जनयुद्धमा प्रत्यक्ष सहभागी भएका इलामका पूर्व जनमुक्ति सेनाहरु संगठित भएका छन् । गणतन्त्र स्थापनाका लागि आफूहरु ज्यानको बाजी राखेर जनयुद्धमा सामेल भएपनि गणतन्त्र प्राप्तिपछि  राज्य र पार्टीले वेवास्था गरेको भन्दै आन्दोलनका लागि पूर्व जनमुक्ति सेनाहरु संगठिन भएका हुन् ।

इलाम सदरमुकाममा शनिबार भएको पूर्व जनमुक्ति सेनाहरुको भेलाले ताराबाबु सुवेदी (हुरी) को अध्यक्षतामा पूर्व जनमुक्ति सेना नेपाल जिल्ला समिति गठन गरेको छ । समितिका उपाध्यक्षहरुमा चहकमान राई (पत्थर), सागर प्रधान (एडविन), सुजन दियाली र नमुना शंकर चयन भएका छन् ।

सचिवमा शुस्मा घिमिरे (भावना), सहसचिवमा आशिष राई (विनय) तथा कोषाध्यक्षद्वयमा राज लोक्ताम र सिर्जना राई चयन भएका छन् ।

सदस्यहरुमा रमेशकुमार लिम्बू (दीपक), विशला लिम्बू (परिचित), रनबहादुर मगर (अमर), अर्जुन थापा, चेतन ठकुरी, पञ्चकुमार राई, सविन राई, सुरेश राई, हर्कबहादुर राई (वंश), रोम राई (कठोर), यामबहादुर राई (संगम), भीमकुमार राई (सरोज), रविन, धनकुमार राई लगायत रहेका छन् ।

उनीहरुले राज्यले आफूहरुलाई गणतान्त्रिक योद्धाको परिचयपत्र उपलब्ध गराई विभिन्न सेवासुविधा दिइनुपर्ने, रोजगारीको व्यवस्था गरिनुपर्ने, स्वास्थ्योपचारको व्यवस्था गरिनुपर्ने, गणतान्त्रिक आन्दोलनमा जनमुक्ति सेना नेपालले गरेको योगदानको सम्मान गरिनुपर्ने लगायतका माग राखेका छन् ।

पूर्व जनमुक्ति सेना नेपालका केन्द्रीय सचिवालय सदस्य तथा इलाम जिल्ला समन्वय समितिका संयोजक नरेन्द्र जवेगूको अध्यक्षता र पूर्व जनमुक्ति सेना नेपाल प्रदेश १ का अध्यक्ष राजेश राई (विमल) को प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष विमलले पूर्व जनमुक्ति सेना नेपाललाई पार्टी र राज्यले उपेक्षा गरेको भन्दै आक्रोश व्यक्त गरे । गणतान्त्रिक आन्दोलनमा आफ्नो ज्यानको बाजी राखेर युद्धमा होमिएका जनमुक्ति सेनाहरु अहिले जीवन गुजारा गर्नै धौधौको स्थितीमा रहेको भन्दै राज्यबाट जनयुद्धको योद्धाहरुको उचिव व्यवस्थापन गरिनुपर्ने माग राखे । उनले अहिलेको उपलब्धि जनमुक्ति सेनाकै देन रहेको दावी गर्दै राज्यले उपेक्षा गरेको गुनासो गरे । उनले पूर्व जनमुक्ति सेनाहरुको योगदानको कदर गर्दै उनीहरुको भरणपोषणका लागि पार्टी र राज्यको ध्यानाकर्षण समेत गराए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इलामका अध्यक्ष भक्त केसीले पूर्व जनमुक्ति सेनाको योगदानको उचित कदर गर्दै उनीहरुको मागप्रति पार्टीमा आवश्यक पहल गर्ने प्रतिवद्धता जनाए । आफ्नो दुई तिहाइको सरकारप्रति जनताको आशा र भरोसा रहेको उल्लेख गर्दै अध्यक्ष केसीले पूर्व जनमुक्ति सेनाको मागलाई सकरात्मक रुपमा लिएको बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति इलामका प्रमुख गणेशप्रसाद बराल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता राम राई, नवराज शंकर लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार