हिमपातले ल्यायो खुशी र पीडा एकै साथ

  नयाँ बुलन्द
0 Shares

पर्वत : पर्वतका उच्च पहाडी भूभागमा बाक्लो हिमपात परेकाले जनजीवन प्रभावित बनेको हो ।

शुक्रबार साँझदेखि जिल्लाको जलजला गाउँपालिकाको लेखफाँट, शालिजा, बाँसखर्क, क्याङ भुकताङले, हम्पालको लेक, पञ्चासे, डहरे र चिसापानीको लेकमा तीन फिट बाक्लो हिउँ परेको छ । धेरै वर्षपछि बाक्लो हिमपात भएको स्थानीयवासीले जनाएको छ ।

वर्षासँगै हिमपात भएकाले जनजीवनका साथै गाईवस्तुलाई समेत समस्या भएको छ ।

हिमपातले गहुँ, आलुलगायत विभिन्न जातका फलफूललाई समेत क्षति पुर्‍याएको स्थानीय कृषकले जानकारी दिएको छ ।

गत असोजदेखिको खडेरी परेको यस क्षेत्रमा गत सोमबार र मङ्गलबार वर्षा र शुक्रबार साँझदेखि हिमपात भएपछि उपल्लो बस्तीका हिउँदेबाली र फलफूल खेतीमा सकारात्मक प्रभाव परेको छ । यद्यपि चिसोले जनजीवन भने प्रभावित भएको छ ।

समुद्र सतहदेखि दुई हजार मिटरभन्दा माथिल्ला भूभागका बस्तीमा हिमपात भएको छ, कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख वासुदेव रेग्मीले जानकारी दिए ।

पाँच महीनायता पहिलोपटक वर्षा भएपछि आकाशे पानीको भरमा खेती गर्दै आएका किसान भने खुशी भएका छन् ।

सुख्खा टारमा लगाइएको आलु, गहुँ, जौ, तोरीलगायतका बालीमा वर्षाले ठूलो राहत महसुस भएको किसानको दाबी छ ।

लगातार परेको वर्षाले बेँसीको बस्तीमा अत्यधिक चिसो बढेको छ । अस्पताल तथा स्वास्थ्य केन्द्रमा चिसोका बिरामी बढेका छन् ।

चिसो बढेपछि यो सातामा मात्रै रुघाखोकी, निमोनिया ज्वरोलगायतका बिरामीको सङ्ख्या ह्वात्तै बढेको पर्वत जिल्ला अस्पतालले जनाएको छ ।

यता,  बागलुङको काठेखोला गाउँपालिका–४ बिहुँ दहपानी र आसपासमा पाँच वर्षपछि आज हिमपात भएको छ ।

शुक्रबार दिउँसैदेखि लगातार पानी परेर चिसो बढेसँगै रातको समयमा हिउँ परेको हो ।

हिउँका कारण बिहुँ र आसपासका ठानडाँडा, शिवालय, घोडा बाँधे, कर्लेम, लेखानीलगायतका गाउँ सेताम्ये देखिएका छन् ।

विगत पाँच वर्षअघि यस क्षेत्रमा हिउँ परेको जानकारी दिँदै काठेखोला गाउँपालिका–४ का वडा सदस्य शिवलाल कँडेलले त्यसयता भने पहिलो पटक हिउँ परेको बताए ।

हिउँ परेसँगै यस क्षेत्रमा लगाइएका आलु, गहुँ, जौको राम्रो उत्पादन हुने भएका कारण यहाँका कृषक खुशी भएका छन् ।

गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) केन्द्रको आयोजना एवं भिटोफ गण्डकी प्रदेश पोखराको संयोजनमा आज यहाँस्थित शिवधुरी सामुदायिक घरबासको उद्घाटनका लागि आएका अतिथि बिहानैदेखि हिउँ खेलेर रमाएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार