बहुमूल्य जडिबुटी चिराइतोको मूल्यमा गिरावट

  नयाँ बुलन्द
0 Shares

इलाम : बहुमूल्य जडिबुटी चिराइतोको मूल्यमा गिरावट आएपछि त्यसको व्यावसायिक खेतीमा लागेका इलामे किसान यतिखेर चिराइतो मासेर किबी खेतीतर्फ उन्मुख भएका छन््। जिल्लाको उत्तरी भेगका गाउँमा व्यावसायिक चिराइतो खेती किसानले गर्दै आएका थिए, तर उत्पादन बढे पनि मूल्य भने वर्र्षेनी ओरालो लागेपछि किसानहरू यतिखेर चिराइतो खेती मासेर किबीखेतीतर्फ आकर्षित बन्दै गएका हुन्।

२०६९ सालमा प्रतिमन ३० हजार रुपियाँँले किनबेच भएको चिराइतो अहिले प्रतिमन चार हजार रुपियाँँले पनि मुस्किलले किनबेच भएपछि किसानले चिराइतो खेतीलाई घटाएर किबी खेतीलाई अँगाल्न थालेको सन्दकपुर गाउँपालिका–४ माबुका किसान पेमगेल्जे शेर्पाले बताए। ‘पहिला एक सय मनसम्म चिराइतो उत्पादन गर्दै आएको थिएँ’, शेर्पाले भने– ‘तर मूल्यमा गिरावट आएपछि खेती घटाएर अहिले किबी खेती थालेको छु।’ अहिले बारीमा चिराइतो १० मन जति मात्र उत्पादन हुँदै आएको शेर्पाले बताए। चिराइतोको व्यावसायिक खेती गर्दै आएका किसानले उत्पादन बढे पनि मूल्य घट्दै जान थालेपछि आफूहरूमा निराशा छाएकाले खेती घटाएर किबी खेतीतर्फ लागेको बताए। जिल्लाको सुलुबुंग, माबु, माईमझुवा, जमुना, माईपोखरी, पुवामझुवा, चमैता, नयाँबजार लगायतका गाउँमा चिराइतोको व्यावसायिक खेती गर्ने किसान ५ हजारभन्दा बढी छन््, तर अहिले त्यत्तिकै संख्यामा चिराइतोको खेती गर्ने किसान भए पनि उनीहरूले खेती भने धेरै घटाएको सुलुबुंगका कृषक दिनेश सुवेदीले बताए।

इलाममा उत्पादन हुँदै आएको चिराइतोको मुख्य बजार भारत हो। फाट्टफुट्ट चीन पनि निर्यात हुँदै आएको छ। भारतमा नै चिराइतोको उत्पादन बढेपछि भारतले नेपाली चिराइतो नलिँदा मूल्य घटेको र बिक्रीमा समेत समस्या भएको स्थानीय व्यापारी दिलमान तामाङले बताए। ‘चिराइतो बिक्री नहुँदा गतवर्र्षको एक सय मन चिराइतो अझै स्टकमै छ’, उनले भने– ‘चिराइतो बिक्री गर्ने क्रममा केही व्यापारीले मिसावट गरेर गुणस्तरहीन चिराइतो बिक्री गरेकाले पनि भारतले चिराइतो नलिएको र मूल्य पनि घटाएको हो, जसकारण व्यावसायिक चिराइतो खेती गर्दै आएका हजारौं किसानसहित व्यापारी प्रभावित बने।’ यो वर्र्ष पाँच सय मनजति मात्र चिराइतो उत्पादन हुने अनुमान किसानले गरेका छन््। यतिखेर चिराइतो उत्पादन भएर किनबेच गर्ने समय भए पनि व्यापारीहरू नै खरिदका लागि आउन छाडेको कृषकहरू बताउँछन््।

चिराइतोको व्यावसायिक खेती छाडेर किबी खेती थालेका कृषकहरूमा उत्साह थपिएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सन्दकपुर गाउँपालिकाका पाँच वटै वडा र इलाम नगरपालिकाको १, २, ३ र ४ नम्बर वडामा किबीको जोन कार्यक्रम सञ्चालित छ। जोन कार्यक्रमबाट कृषकले प्राविधिकका साथै धेरै सेवासुविधा पाउने भएपछि यस खेतीतर्फ कृषकको आकर्षण बढेको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार