सूर्योदय नगरपालिकालाई ‘पहिलो पर्यटकीय नगर’ घोषणा

  नयाँ बुलन्द
0 Shares

ब्यानर खोलेर पर्यटकीय नगर घोषणा गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राई ।

इलाम : इलामको सुर्योदय नगरपालिका पर्यटकीय नगर घोषणा गरिएको छ । आइतबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सुर्योदयलाई प्रदेशकै पहिलो पर्यटकीय नगर घोषणा गरे । सुर्योदय नगरपालिकाको चौथो नगर सभा उद्घाटनका क्रममा मुख्यमन्त्री राईले पर्यटकीय घोषणा गरेका हुन् ।

जिल्लाकै एक प्रमुख पर्यटकीय क्षेत्र कन्याम, पशुपतिनगर, श्रीअन्तु जस्ता पर्यटकीय स्थलहरुको रहेका सुर्योदयलाई पर्यटकीय नगर घोषणा गरिएको हो । घोषणाकै अवसरमा पर्यटकीय नगर लेखिएको लेटरप््याड समेत विमोचन गरियो ।

सुर्योदय नगरपालिकालाई प्रदेश १ ले पनि पर्यटकीय नगरको सूचिमा राखेको थियो । संघीय सरकारले पनि एक सय पर्यटकीय क्षेत्रको सूचिमा सुर्योदय नगरपालिकालाई पनि राखेको थियो ।

पर्यटकीय नगर घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले विकास र सम्वृद्धिका आधारमा कृषि र पर्यटनलाई पहिलो प्राथमिकताको आधारमा राखेको बताए । त्यही क्रममा सुर्योदय नगरपालिकालाई पहिलो पर्यटकीय नगरको रुपमा घोषणा गरिएको बताए ।

‘यसलाई अझै व्यवस्थित रुपमा सजाएर भएपनि नमूना नगरको रुपमा विकास गर्न सकिन्छ’ मुख्यमन्त्री राईले भने, ‘अहिलेको सरकारको जिम्मेवारी टालटुल पारेर पुरा गर्ने मात्र होइन । कम्तिमा पर्यटकहरुलाई तीन चार दिनसम्म राख्न सकिने पुर्वाधार सेवा सुविधा खडा गर्नुपर्छ ।’

मुख्यमन्त्री राईले प्रदेश सभा आगामी २० माघबाट बस्ने जानकारी गराउँदै समे सभाबाट हरियाली प्रदेशलाई प्रदेशको रुपमा घोषणा गर्ने र आत्मनिर्भर बनाउने अभियान चलाइने बताए । उनले प्रदेशको नाम र स्थायी राजधानी समेत सोही सभाबाट टुङ्गाइने जानकारी दिए ।

सुर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले नगरले चालेको पर्यटन अभियानलाई साथ दिदै संघीय सरकारले देशभरका सय पर्यटकीय गन्तव्यको सुचिमा फिक्कल श्रीअन्तु सर्किट परेको बताए ।

राईले सुर्योदय नगरले नगरलाई अनलाईन सीस्टममा संचालन गरिएको र इ प्रविधिलाई विद्यालय तहसम्म पुर्याइएको बताए । उनले नगरको प्रोफाइल , एकिकृत पाश्र्वचित्र बनिसकेकोले एकिकृत आवधिक गुरुयोजना बनाएर स्थानीय जनताका आवश्यक्ता अनुसार अगाडि बढ्ने बताए । सार्वजनिक सेवा प्रवाह गर्नका लागि नीजि, सहकारी र साझेदारी मा काम गर्ने महत्वपुर्ण अभ्यास भएकाले दुइ सय ५२ वटा टोल विकास संस्था गठन गरि सवैको इमेल खोल्ने क्रम भएको जानकारी दिए ।

कार्यक्रममा प्रदेश सभाका सांसदहरु धिरेन्द्र शर्मा, अमिरबाबु गुरुङ, रामबहादुर मगर, खिनु लिङ्वा लिम्बू, काजिमान कागते समेतले प्रदेशकै नमूना नगरको रुपमा विकास हुँदै गएको सुर्योदय नगरपालिकालाई चियाको राजधानीको रुपमा विकास गर्न सकिने आंैल्याए । माई नगरपालिका प्रमुख दिपक थेवे, मोरङको पथरी शनिश्चरे नगरपालिकाका प्रमुख दिलिप राई, जिल्ला समन्वय समितिका उपप्रमुख चित्रकला बराइली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ध्रुव श्रेष्ठ, नेपाली काँग्रेसका दुर्गा बराल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सटेन्द्र जवेगूलगायतले मन्तव्य राखेका थिए ।

सभा उद्घाटनका अवसरमा नगरका उत्कृष्ट कर्मचारी कार्यालय सहायक बालकुमार गिरीलाई मुख्यमन्त्री राईले पाँच हजार नगद सहित पुरस्कृति गरियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार