काठमाडौं : राजधानीको दरबारमार्ग र ठमेलका होटल तथा रेस्टुराँहरुमा नेपाल प्रहरीको ‘डीएसपी हुँ’ भन्दै ठगी गर्ने अनिल थापालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर टेकुले शुक्रबार पत्रकार सम्मेलन गरी थापालाई सार्वजनिक गरेको हो ।
भक्तपुर, बालकोटका ३५ वर्षीय थापाले नेपाल प्रहरीका बहालवाला डीएसपी भीमकिरण बोगटीको नाममा परिचयपत्रसमेत बनाएको पाइएको प्रहरीले जनाएको छ ।
विगत १४ दिनदेखि कमलादीस्थित तिरुपति होटलमा कोठा लिइ बस्दै आएका उनले आपराधिक गतिविधि गर्दै आएका थिए ।
ठूलो परिमाणको लागुऔषधसहित पक्राउ
यस्तै, जबर्जस्ती करणी मुद्दामा ६ वर्ष जेल सजाय भोगी चार महिनाअघिमात्रै रिहा भएका लालबहादुर राना ठूलो परिमाणको लागुऔषधसहित पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसर टेकुको टोलीले उनलाई बल्खुबाट पक्राउ गरेको हो ।
रानाले आफू लागुऔषध कारोबारी भएको स्वीकार्दै वीरगन्जबाट लागुऔषध ल्याएको बताएको पनि प्रहरीले जनाएको छ ।