काठमाडौं : नेपाली कामदार लैजाने विषयमा जापानले नेपालसँग सम्झौता गरेको छ । कामदार लैजानेसहित आधा दर्जन विषयमा आज नेपाल र जापान सरकारबीच सम्झौता भएको हो । सम्झौता–पत्रमा नेपाल भ्रमणमा रहेका जापानी विदेशमन्त्री तारो कोनो र नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले हस्ताक्षर गरेका हुन् ।
यस्तै, द्विपक्षीय हितका विषयमा छलफल गर्दै परामर्श संयन्त्रण निर्माण र दुई देशबीच सिधा हवाई सम्पर्क स्थापना गर्ने विषयमा पनि सम्झौता भएको छ । यसअघि नेपालको सामाजिक–आर्थिक विकास प्रयासमा जापान सरकारबाट प्राप्त सहयोग तथा त्यसको दायरा विस्तारका विषयमा मन्त्रीस्तरीय छलफल भएको थियो ।
छलफलमा नेपाली पक्षले विकास–निर्माणका प्राथमिकता र आर्थिक विकासको लागि सरकारले निर्धारण गरेका प्राथमिकता क्षेत्र प्रस्तुत गरेको थियो । कृषि क्षेत्रको विकास तथा आधुनिकीकरण, ऊर्जा उत्पादन, पूर्वाधार विकास, पर्यटन तथा मानव स्रोतको विकासमा जापान सरकारको सहयोग, नेपालमा जापानी लगानी प्रवद्र्धन, नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउने विषयमा दुई पक्षीय छलफल केन्द्रित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।