काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले एक साता भित्रै छायाँ सरकार गठन गर्ने भएको छ । सरकारको कामको निगरानी गर्न भन्दै कांग्रेसले सरकारमा अनुभव लिइसकेका नेतालाई छायाँ सरकारको मन्त्रालयको जिम्मेवारी दिने भएको हो ।
कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले कांग्रेसले एक साता भित्रै छायाँ सरकार बनाउने बताए । एक साता भित्रै छायाँ सरकार गठन हुन्छ, अब सरकारका प्रत्येक कामको निगरानी छायाँ सरकारबाटै हुन्छ,’ खाँडले भने ।
सांसद गगन थापाले तीन मन्त्रालय एक मन्त्री हुनेगरी छायाँ सरकार बनाइने बताए । उनले पहिले अनुभव लिइसकेका मन्त्रीहरु सम्वन्धित मन्त्रालयमहा रहने जानकारी दिए । यस्तै ती मन्त्रीहरु मध्येबाट नै छायाँ सरकारको संयोजक बनाइने समेत जनाए ।
कांग्रेसले मंगलबार नै सुचना निकालेर छायाँ सरकारमा रहने मन्त्रीहरुको लागि नाम माग्ने तयारी गरेको छ । कांग्रेस स्रोतका अनुसार तीन दिनको समय दिएर छायाँ सरकारमा रहने सांसदहरुको नाम माग्ने र प्राप्त नामहरुबाट मन्त्री तोकेर छायाँ सरकारको जिम्मेवारी दिइने छ ।
कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा मंगलबार दलको बैठक समेत बसेको थियो । बैठकले संसदमा प्रधानमन्त्रीले सांसदहरुले राखेको प्रश्नको जवाफ नदिएर संसदीय अभ्यासको उल्लंघन गरेको प्रति समेत आपत्ति जनाएको छ ।