लगानी सम्मेलनमा इनपाको लाखौ खर्च,उपलब्धि शुन्य

नागरीक अभिनन्दन गरेको हेर्नका लागि मात्र बोलाइएको रहेछ : उद्योगी

  गणेश घिमिरे
0 Shares

इलाम :  इलाममा शुक्रबार सम्पन्न लगानी सम्मेलनले इलामनगरपालिकाको खर्च बढायो, तर उपलब्धि शुन्य भएको छ ।

प्रधानमन्त्री  केपी शर्मा ओलीले उद्घाटन गरेको सम्मेलनमा देशका बिभिन्न जिल्लाहरुबाट दर्जनौको सङ्ख्यामा ठूल–ठूला उद्योगि–ब्यबसायी उपस्थित थिए । प्रधानमन्त्रीले सम्मेलनमा सम्बोधन गरेपछि आयोजकले उद्योगि–ब्यबसायीसंग बसेर छलफल–बहस गरी इलाममा लगानीकर्तालाई लगानी गराउने गरी बातावरण तयार पार्ने जनाएकोे थियो ।

तर प्रधानमन्त्रीको सम्बोधनपछि आयोजकले एकाएक कार्यक्रम सकिएको घोषणा गर्दा उद्योगि–ब्यबसायी सहित सम्मेलनमा सहभागि सबै अचम्मित भए ।

‘आफूहरुलाई सम्मेलनमा केवल प्रधानमन्त्रीको भाषण सुन्न र उहाँलाई नागरीक अभिनन्दन गरेको हेर्नका लागि मात्र बोलाइएको जस्तो देखियो’ एकनाम नखुलाउने शर्तमा एक उद्योगिले भने ‘जुन उद्येश्य राखेर कार्यक्रमको आयोजना गर्नुपर्ने हो, त्यो नहुँदा आफूहरुमा निराशा छाएको छ ।’

जिल्लामा बाह्य लगानी कम भइरहेको अवस्थामा बाह्य लगानी भित्राउने उद्येश्यले लगानी सम्मेलनको आयोजना भएको थियो । तर जुन बिषयमा केन्द्रित भएर कार्यक्रम हुनुपर्ने हो त्यो भने नभएको सम्मेलनमा सहभागिले बताए ।

उद्योगी–ब्यबसायिले के–के क्षेत्रमा लगानी गर्न सक्छन्, कतिसम्म लगानी गर्न सकिन्छ, लगानी गरेपछि आर्थिक स्तर उठ्ने हो– होइन भन्ने लगायतका बिषयहरु छलफलका क्रममा हुने सोचेर आएको बताएका थिए ।

तर त्यस्तो नभएपछि उनीहरु निराश बनेर फर्केका छन् । सम्मेलनमा झापा, मोरङ, काठमाडौं लगायतका जिल्लाहरुबाट २५÷३० जनाभन्दा बढी उद्योगि–ब्यबसायी उपस्थित थिए ।

यसरी हेर्दा लगानी सम्मेलन औपचारीकतामा मात्र सिमीत भएको इलामबासीको बुझाई छ ।
सम्मेलनले नगरपालिकालाई ऋणको भार मात्र बोकाएको छ ।

सम्मेलनमा साडे चारलाख रुपैंयाँ खर्च गर्ने नगरपालिकाको स्टमेट थियो । तर स्टमेट गरेको रकमभन्दा झण्डै दुईलाख बढी रकम खर्च भएको नगरपालिका श्रोतले जनाएको छ । करीब छलाख रुपैंयाँको हाराहारीमा सम्मेलनमा खर्च भएको छ ।

इलामनगरबासिले तिरेको करबाट आयोजना गरेको लगानी सम्मेलन उपलब्धि बिहीन् भएको नगरबासीको आक्रोश छ । नगरपालिकाका प्रबक्ता ठाकुरनारायण श्रेष्ठले खर्चको बारेमा आफूहरुलाई जानकारी नभएकोले प्रमुख प्रशासकिय अधिकृतलाई बुझ्नका लागि आग्रह गरे । प्रमुख प्रशासकिय अधिकृत सहदेव रायामाझिले समेत खर्चको बारेमा आफूलाई थाहा नभएको जनाए ।
नगरपालिकाका प्रबक्ता ठाकुरनारायण श्रेष्ठले प्रधानमन्त्रीको सम्बोधन पछि उद्योगि–ब्यबसायीसंग छलफल गर्ने कार्यतालिका भएपनि कार्यक्रम स्थल परिवर्तन हुनु र ब्यबसायीले प्रधानमन्त्री नै कार्यक्रममा नभएपछि आफूहरु मात्र छलफलमा बसेर उपलब्धि नहुने भन्दै हिँडेपछि छलफल हुन नसकेको बताए ।

अब चाँडै इलामनगरपालिका, उद्योग बाणिज्य महासंघ, उद्योग बाणिज्य महासंघ प्रदेश नम्बर १, इलाम उद्योग बाणिज्य संघ र केही ठूला उद्योगि ब्यबसायिसंग बसेर छलफल गरी लगानी भित्राउने रणनीति सहित इलाम घोषणा पत्र तयार पार्ने तयारीमा रहेको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार