काठमाडौं : बाटोमा हिँडडुल गर्दा होस वा सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा होस् जो कोही पनि पकेटमारको शिकार बन्ने गरेका छन् ।
पछिल्लो समय राजधानीमा पकेटमारहरुको विगविगी निकै नै बढेको जनगुनासो आएपछी काठमाडौ महानगरिय प्रहरी परिसरले पकेट मारलाई पक्राउ गर्न नयाँ अभियान संचालन गरेको छ ।
पछिल्लो समय राजधानीका सार्वजनिक सवारी साधनमा पकेटमारको बिगबिगी बढेको छ ।
यात्रुहरुको गुनासो बढेपछि महानगरिय प्रहरी परिसर टेकु र राष्ट्रिय यातायात व्यवसायी महासंघको समन्वयमा बिगत एक महिनादेखि सञ्चालन गरिएको अभियानमा राजधानीको बिभिन्न रुटमा चल्ने बसबाट ८६ जना पकेटमारलाई नियन्त्रणमा लिएको छ ।
अभियानमा ७७ जना सादा पोशाकका प्रहरी परिचालन गरी सार्वजनिक सवारी साधनबाट रंगेहात पक्राउ गरिएको महानगरीय प्रहरी परिसर प्रमुख बसन्त लामाले जानकारी दिए ।
पकेट मार्ने क्रममा उनीहरुले बिभिन्न औजारहरुसमेत प्रयोग गर्ने गरेका छन् ।
हरेक रुटमा पकेट मार्ने क्रममा दुई दुई जनाको दरले चढ्ने गरेका उनीहरुले पकेट मार्ने बितिकै पकेट मारिएको रकम पास गराई अघिल्लो स्टपमा झर्ने गरेको पनि प्रहरीले खुलासा गरेको छ ।
पकेटमारहरुले पकेट मार्ने क्रममा बसमा चढ्ने बितिकै आफनो कोड भाषा प्रयोग गर्ने गरेका छन् ।
उनीहरुले पैसालाई ‘द’, मोबाइललाई ‘कान’, पीडितलाई ‘रामे’, पकेटमारी गर्नेलाई ‘मास्टर’ अथवा ‘काशी’, पैसा धेरै भएको संकेत गर्नलाई ‘टानको द’, पैसा थौरै भएको संकेतलाई ‘जुटको द’, गाडीलाई ‘कांचा’, केटालाई ‘छापा’, केटीलाई ‘भद्री’, पुलिस आयो भन्ने संकेतका लागि ‘ठूल्दाई आयो’, ड्राइभरलाई ‘माम’, खलासी ‘मले’, गाडीबाट झरेर भाग्न ‘टप्की’, गाडीभित्र अगाडी सर्न ‘अकल जा’, गाडी भित्र पछाडी सर्न ‘चिछल जा’ जस्ता शब्द प्रयोग गर्ने गरेका छन् ।
राजधानीका अधिकांश सवारी साधनमा यस्ता कोड भाषा प्रयोग गरी पकेट मार्ने गरेकालाई सार्वजनिक सवारी साधनमा यात्रा गर्ने जोकोहीले यी कोड भाषाप्रति सचेत रहनु जरुरी छ ।