काठमाडौं : सरकारले आजदेखि राष्ट्रिय परिचयपत्र वितरण सुरु गर्ने भएको छ ।
आठ वर्षको गृहकार्यपछि सरकारले पाँचथरबाट राष्ट्रिय परिचयपत्र वितरण सुरु गर्न थालेको हो ।
गृहमन्त्री रामबहादुर थापाले परिचयपत्र वितरणको उद्घाटन गर्ने कार्यक्रम छ ।
चिप प्रविधिमा आधारित बायोमेट्रिक विवरणसहितको राष्ट्रिय परिचयपत्र वितरण गर्न लागिएको राष्ट्रिय परिचयपत्र व्यवस्थापन तथा पञ्जीकरण विभागले जनाएको छ ।
देशका ७७ वटै जिल्लामा यसै वर्षबाट परिचयपत्र वितरणको काम सुरु गरिने बताइएको छ ।
एसियाली विकास बैंक (एडिबी) को सहयोगमा सरकारले परिचयपत्र वितरण गर्न लागेको हो ।
१ लाख १७ हजार परिचयपत्र छाप्न एडिबीले करिब ५५ करोड रुपैयाँ अनुदान दिने छ । यसबाहेक सबै परिचयपत्र सरकारकै बजेटमा छापिनेछ ।
२०६६/६७ मा सरकारको नीति तथा कार्यक्रममै राष्ट्रिय परिचयपत्र वितरणसम्बन्धी योजना समेटिएको थियो ।
२०६७ सालमा गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्र स्थापना गरिएको थियो ।
तत्कालका लागि नागरिकता लिएका व्यक्तिलाई मात्र सरकारले राष्ट्रिय परिचयपत्र दिनेछ । पछि सबै नागरिकलाई वितरण गर्ने योजना सरकारको छ ।