मूल्य स्थीर नहुँदा किसान र उद्योगी मारमा

  सुजता सुनुवार
0 Shares

इलाम : उत्पादनको मुल्य स्थीर नहुँदा किसान, मजुर र उद्योगी मारमा परेको सारोकारवालाहरुले बताएका छन् । उत्पादनदेखि उपभोक्तासम्म पुर्याउन वर्सेनि मूल्यमा हुने अस्थीरताले लगानी उठाउन समेत समस्या भएको उनीहरुले गुनासो गरेका छन् ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ केन्द्रीय समितिले इलाममा आयोजना गरेको ‘जिम्मेवार व्यवसायको प्रवद्र्धन र नीतिगत अवस्था’ विषयक कार्यक्रमका सहभागीहरुले राज्यको नीतिगत अस्पष्टताका कारण यस्तो समस्या आएको बताएका हुन् ।

प्रमुख आयस्रोतका नगदेबाली अदुवा, चिया, अलैची र दुग्द्यजन्य उत्पादित पदार्थका मूल्यमा परिवर्तन भईरहने प्रक्रियाले किसान मात्र नभई उद्योगी र मजदुरलाई समेत गम्भीर असर परेको उनीहरुले बताए । श्रम संगठनका प्रतिनिधि, किसान, उद्योगी, व्यवसायी र संचारकर्मीहरु सहभागी रहेको कार्यक्रममा वक्ताहरुले यस्तो समस्या समाधान गर्न राज्यको स्पष्ट नीति आउनुपर्नेमा जोज दिएका थिए ।

कार्यक्रममा सहभागी भएका उद्योगी टंक दाहालले मूल्यमा एकरुपता नहुँदा बगानमा चिया टिप्ने श्रमिक नै पाउन मुस्किल हुन थालेको बताए । इलाम नगरपालिका १ स्थित ग्रिनहिल अर्थोडक्स चिया प्रशोधन उद्योगका प्रोप्राइटर समेत रहेका दाहालले महङ्गो मूल्यमा चियाको पत्ति खरिद गरेर प्रशोधन गरिएका चियाको मूल्य परिवर्तनले उद्योग घाटामा जान थालेको बताए । ‘यसको प्रत्यक्ष असर चिया श्रमिकमा परेको छ । समयमा श्रमिकलाई पारिश्रमिक दिन नसक्नु, श्रम अनुसारको पारिश्रमिक दिन नसक्नुले चिया टिप्नका समयमा श्रमिक पाउन समेत गाह्रो छ’ उनले भने ।

जौबारी टी स्टेटकी श्रमिक देवुका आचार्यले भौगोलिक विविधताका कारण मजदुर एकजुट हुन नसक्दा मौन रहेर काम गर्न बाध्य भएको दुखेसो पोखिन् । ‘समयमै ज्याल पाइदैन । मालिकसँग कुरा राख्दा मूल्यमा फेरबदलको कारण समस्या देखाउने गरेको छ’ उनले भनिन् ।
मूल्यमा अस्थीरताकै कारण धेरै उद्योगहरु बन्द हुने अवस्थामा पुगेका छन् । सुर्योदय नगरपालिकाको ५८ चिया उद्योगमध्ये ९ उद्योग बन्द भएका छन् । त्यस्तै १६

उद्योग बिक्रीमा रहेको नगर उद्योग वाणिज्य संघका सदस्य सुजन तिमल्सिनाले बताए । इलाम नगरपालिका १ मा मात्र सहकारीद्धारा सञ्चालित ९ वटा चिया उद्योग सञ्चालनमा रहेका छन् । तिनीहरुको अवस्था पनि दयनिय बन्दै गएको छ ।

यस्तै अदुवा, अलैची र दुग्द्यजन्य पदार्थमा समेत मूल्य स्थीर रहन नसक्दा व्यवसायिक खेती गर्दै आएका किसानहरु वैकल्पिक वयवसायतर्फ लाग्ने अवस्थामा पुगेका छन् । इलाम नगरपालिका वडा नम्बर ९ की अदुवा किसान मिना चौहानले भाउमा उतावचढावले लगानी नै नउठ्ने भएकाले अदुवा नै रोप्न छोड्ने अवस्था आएको बताइन् ।

जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले पूर्वी नेपालमा दूध, अदुवा, अलैंची र चियामा लगानी बढाउँदै अब गुणस्तरीय उत्पादन गरि तेस्रो मुलुक निर्यातका लागि संघ सरकारले लगानी बढाउनुपर्ने बताए । कृषि क्षेत्रमा इलाम अग्रणि भएपनि सरकारी क्षेत्रबाट व्यवस्थित लगानी गरि गुणस्तर सुधारका लागि बजारीकरणका लागि पहल गर्न आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिवद्धता जनाए ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले इलामको चिया क्षेत्रमा काम गर्ने मजदूरको समस्या समाधानका लागि आफ्नो क्षेत्रबाट पहल गर्ने बताए । सरकारले नयाँ ज्याला तोकेकाले उद्योगीहरुले त्यो कार्यान्वयन गर्नुपर्नेमा तिमल्सिनाले जोड दिए ।

इलाम नगरपालिका इलामका प्रमुख महेश बस्नेतले अब उद्योगी, किसान र मजदुरका समस्यालाई सम्बोधन गर्ने गर्दे तालिम, उत्पादन र बजारीकरणलाई महत्व दिने प्रतिवद्धता जनाए । ‘उत्पादित वस्तुको बजारीकरणका लागि नगरपालिकाले विभिन्न योजना अघि बढाएको छ’ बस्नेतले भने, ‘आगामी दिनमा कृषि क्षेत्रमा देखिएको समस्यामा क्रमिक सुधार ल्याउनेछौं ।’

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सटेन्द्र जवेगूले कृषि क्षेत्रमा देखिएको समस्या साधानका लागि संचारकर्मीहरुले कलमको माध्यमबाट झकझकाईरहेको बताउँदै निरन्तर सहयोग गर्ने बताए ।

फोनिजका अध्यक्ष दण्ड गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा श्रम संगठनका प्रतिनिधि, किसान, उद्योगी, व्यवसायी र संचारकर्मीसहति ६० जनाको सहभागिता रहेको थियो । अन्तरराष्ट्रिय श्रम संगठन (आईएलओ) को सहयोगमा संचालित आईएलओ फोनिज एसीएफ परियोजना अन्तरगत कार्यक्रम संचालन गरिएको परियोजना संयोजक गंगा गुरुङले बताईन् ।

परियोजना अन्तरगत फोनिजले कृषि उत्पादन र त्यसको उत्तरदायी व्यवसायको प्रवद्र्धनका विषयमा कृषक, कृषि व्यवसायी, त्यस क्षेत्रका नीति निर्माता एवं सरोकारवालाहरुले गरिरहेका कामहरुलाई समेटेर समाचारहरु प्रकाशन तथा प्रशारण गरिरहेको छ । कार्यक्रम अन्तरगत अदुवा, अलैँची, चिया र दुग्धजन्य उत्पादनको मूल्य श्रृंखला र उत्तरदायी व्यवसायको प्रवद्र्धन गर्न पैरवी अभियान, नीतिगत बहस र जनचेतनामुलक कार्यक्रमहरुको विषयवस्तुलाई समेटेर समाचारहरु प्रकाशन तथा प्रशारण गरिरहेका छन् ।

परियोजनाको पहिलो कार्यक्रम अन्तरगत फोनिजले ७ जिल्लाका २१ पत्रकारहरलाई समेटेर १२ देखि १६ कात्तिकसम्म अनुसन्धनात्मक पत्रकारिता तालिम इलाममा नै संचालन गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार