आइतबार चुलाचुली, माङसेबुङ, फाकफोकथुम र माईमा सार्वजनिक विदा

इलाम : नेपालका १६ औँ राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको जन्मजयन्तीका दिन आइतबार इलामका चार स्थानीय तहले सार्वजनिक विदा दिएका छन् ।

किरात धर्मका महागुरु फाल्गुनन्द लिङदेनको १ सय ३४ औँ जन्मजयन्तीमा चुलाचुली, माङसेबुङ र फाकफोकथुम गाउँपालिका तथा माई नगरपालिकाले सार्वजनिक विदा दिएको हो । चार वटै स्थानीय तहले कात्तिक २५ (आइतबार) सार्वजनिक विदा दिएर विभिन्न कार्यक्रम गरेर फाल्गुनन्दको जन्मजयन्ती मनाउने भएको छ ।

माई नगरपालिकाले नगरका विभिन्न ५ स्थानमा किरात धर्मावलम्बीहरुको आयोजनामा विभिन्न कार्यक्रम गरी जन्मजयन्ती मनाउने भएको छ । यस्तै माङसेबुङ गाउँपालिकामा भने वर्तमान किरात धर्मगुरु आत्मानन्द लिङदेनको गुरुनीजि आश्रम कृषि उपसमितिको आयोजनामा माङसेबङ १ गजुरमुखीमा विविध कार्यक्रम गर्नेछ । यस्तै फाल्गुनन्दको जन्मस्थान माङसेबुङ २ इभाङमा पनि विभिन्न कार्यक्रम गरी जन्मजयन्ती मनाउने तय गरिएको छ ।

फाकफोकथुम गाउँपालिकाले किरात माङहिम संरक्षण समितिको आयोजनामा किरात माङहिम रुपाटारमा विभिन्न कार्यक्रम गरी जन्मजयन्ती मनाउने तयारीमा जुटेको फाकफोकथुम गाउँपालिकाका उपाध्यक्ष सरस्वती राईले र्सार्यलाई जानकारी दिइन् ।

आइतबार गाउँपालिका र नगरपालिका भित्रका सम्पूर्ण सरकारी कार्यालय तथा विद्यालहरुमा विदा दिइएको सम्बन्धित स्थानीय तहले जनाएको छ । माङसेबुङ गाउँपालिकालाई लिङदेनको जन्मथलो, फाकफोकथुममा आश्रम बनाएर बसेको र देउमाई नगरपालिका वडा नम्बर २ को खत्रक्पामा ज्ञान हासिल गरेको स्थान माई नगरपालिकाको नजिक पर्ने भएकाले चार वटै स्थानीय तहमा सार्वजनिक विदा दिने निर्णय गरेको माई नगरपालिका प्रमुख दीपककुमार थेवेले बताए ।

आइतबार देशभर विभिन्न स्थानमा कार्यक्रम गरी किरात धर्मावलम्बीहरुले लिङदेनको जन्मजयन्ती मनाउनेछन् । यसबैबीच किरात याक्थुङ चुम्लुङले समेत पूर्वका ९ जिल्ला सहित उपत्यकाका ३ जिल्लामा विभिन्न कार्यक्रम गरी फाल्गुनन्द लिङदेनको जन्मजयन्ती मनाउने तय गरेको छ । त्यसका लागि सबै जिल्ला शाखा र नगर तथा गाउँ शाखालाई सर्कुलर जारी गरिएको किरात याक्थुङ चुम्लुङकी महासचिव निरन्ती तुम्बापोले जानाकारी दिइन् ।

फाल्गुनन्दको जन्मजयन्तीमा पूर्वका विभिन्न जिल्लाका लिम्बू बाहुल्यता भएका विभिन्न स्थानीय तहहरुले समेत आइतबार सार्वजनिक विदा दिएका छन् । किरात धर्मावलम्बीहरुले फाल्गुनन्दको जन्मजयन्तीमा सार्वजनिक विदाको माग गर्दै आएको भएपनि नेपाल सरकारले भने सार्वजनिक विदा दिएको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार