नेपाल संगीतको श्रीवृद्धिमा निरन्तर सक्रिय प्रकाश गुरुङ

काठमाडौं : यस वर्षको इमेज लाइफ टाइम अचिभमेन्ट अवार्डबाट वरिष्ठ संगीतकार प्रकाश गुरुङ सम्मानित भएका छन् ।

विगत पाँच दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा लागेका उनको सक्रियता आज पनि कायमै छ ।

नेपाली सांगीतिक क्षेत्रमा दशकौंदेखि अनगिन्ती सिर्जनामार्फत् अविच्छिन्न समर्पित साधक हुन्, प्रकाश गुरुङ ।

उनको यही समर्पण र क्षमता सांगीतिक अनुरागीसँगको सुमधुर सम्बन्ध स्थापित गर्ने मजबुत् कडी सावित भएको छ ।

वि.सं. २००८ साल पुस १ गते बुवा हरिमान र आमा डोमिनी गुरुङको कोखबाट दार्जिलिङमा प्रकाश गुरुङको जन्म भएको हो ।

बुवा शास्त्रीय संगीतका ज्ञाता । घरमा सांगीतिक माहोल थियो । बुवाको सांगीतिक दिक्षाले उनमा संगीतको ज्ञान र प्रभाव झांग्गिदै गयो ।

स्कुल जीवनमै प्रकाश गुरुङ गीत–संगीतमा सक्रिय भइसकेका थिए । अलि–अलि गाउँथे पनि । तर, वाद्ययन्त्रहरुसँग बढी रमाउँथे । कम्पोजिसनको आकर्षण बेसी थियो ।

२० वर्षको उमेरमा खर्स्याङ अल इन्डिया रेडियोमा आफ्नो स्वरमा गीत रेकर्ड गराएका प्रकाश गुरुङले संगीतकारकारुपमा भने वि.सं. २०३० सालमा रेडियो नेपालमा मीरा राणाको स्वरमा पहिलो गीत रेकर्ड गराएका थिए ।

त्यसयता विभिन्न कलाकारको स्वरमा उनले स्तरीय र लोकप्रिय संगीत पस्कँदै गए ।

२०२९ सालमा नेपाल आएपछि भने प्रकाश गुरुङको कर्मथलो यतै बन्यो ।

नेपाली मौलिकता तर प्रस्तुतिमा पश्चिमी शैलीको उनको नौलो प्रयोगले २०३५ सालतिर संगीतबजारमा तहल्का मच्चियो ।

आधुनिक गीतका सफल संगीतकार प्रकाश गुरुङले करिब २० ओटा भिडियो र आधादर्जनजति ठूलो पर्दाका फिल्ममा सुमधुर संगीत भर्न सफल भएका छन्, मौलिकता र नेपालीपन कायम राख्दै ।

संगीतकार प्रकाश गुरुङले आफ्नो गायकी एल्बम ‘प्रियसीलाई’मार्फत् पनि प्रमाणित गरेका छन् ।

२७ वर्षदेखि सांगीतिक गुरुको भूमिकालाई उनले इमान्दारिताका साथ आज पनि निभाइरहेका छन् ।

विभिन्न मुलुकको भ्रमण गरेर नेपाली गीत–संगीतलाई अन्तर्राष्ट्रियस्तरमा प्रचार–प्रसार गर्न उनले उल्लेखनीय भूमिका निभाएका छन् ।

सांगीतिक योगदानको कदरस्वरुप उनी विभिन्न मान–सम्मान र पुरस्कारबाट सम्मानित भएका छन् ।

नेपाल संगीतको श्रीवृद्धिमा ६७ वर्षीय प्रकाश गुरुङको सक्रियता आज पनि कायमै छ ।

संगीतको सुरसँगको निकटता अनि निष्ठा वर्षौंसम्म अनुकरणीय आदर्श बन्न यसरी नै सफल रहोस् । प्रकाश गुरुङ यसैगरी गुन्जिरहून् !

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार