इलाम : जिल्लामा वर्षेनी औषधिजन्य जडीबुटीको उत्पादन घट्दै गएको छ । चिराइतोलगायत जडीबुटीमा मिसावट भेटिनु र तिनको भाउ घट्नुजस्ता कारणले किसानले जडीबुटी खेती घटाउँदै लगेका हुन् ।
जिल्लामा चिराइतो, अर्गेली, लौठ सल्ला, पाखनबेदलगायत जडीबुटी खेती हुँदै आएकामा उचित मूल्य नपाएकै कारण जडीबुटीको खेती छाडेर अन्य खेती गर्न थालिएको चिराइतो किसान दिनेश सुवेदी बताछन् । कुनै बेला पाँच मन (एक मनको ४० केजी) सम्म चिराइतो उत्पादन गर्ने सुवेदी अहिले किबी खेतीमा लागेको बताउँछन् ।
“मैले तीन वर्ष अघि मात्र २९ हजार प्रति मनमा चिराइतो बेचेको थिएँ तर त्यसको मूल्य घटेर अहिले प्रतिमन चारदेखि पाँच हजार मात्र छ” उच्च पहाडी संस्था नेपालका प्राविधिक युवराज पौडेल (पिसी)का अनुसार किसानले पछिल्लो समय जडीबुटी खेती घटाएर लौठ सल्लालगायत वनस्पतिको खेती गर्न थालेका छन् । जिल्लाका माइपोखरी, पुवामझुवा, सुलुबुङ, बरबोटे, साँखेजुङमा बढी जडीबुटी उत्पादन हुने गरे पनि तिनको मूल्यमा गिरावट आएपछि किसानले जडीबुटी खेती नै छाड्दै गएको जिल्ला वन कार्यालयले जनाएको छ । उक्त कार्यालयको तथ्याङ्कअनुसार इलामबाट चिराइतो यस आवमा १५ हजार ४१६ केजी बिक्री भएको थियो ।
आव २०७३/०७४ मा बिखमा ३०० केजी, अर्गेली १५ हजार ४०० केजी, लोक्ता एक हजार केजी, सतुवा १५ केजी, रुद्राक्ष १२३ केजी विक्री भएको थियो । यस्तै आव २०७४÷७५ मा सतुवा २५ केजी, अर्गेली २५ हजार २०० केजी, इन्द्रेणी बियाँ २४५ केजी, बिखमा २०० केजी, मजिटो एक हजार २०० केजी पाखनवेद २८० केजी र लौठ सल्ला दुई हजार ५०० केजी मात्र बिक्रीका लागि अनुमति लिन आएको उक्त कार्यालयले जनाएको छ ।