बाँदर गाउँ पस्न थालेपछि किसान हैरान

इलाम : बाँदरको हुलहुल नै गाउँमा प्रवेश गरी पाक्न लागेको बाली नष्ट गर्न थालेपछि इलामका किसान मारमा परेका छन् । माइजोगमाई गाउँपालिकाका किसान बाँदरको विगविगीले हैरान भएका छन् ।

माईजोगमाईका तल्लो भेग सल्लेरी र प्याङका किसानले लगाएको मकै यसवर्ष बारीमा नै बाँदरले सखाप पारेको माईजोगमाई ६ का किसान लेखराज थेवेले बताए । दैनिकजसो ३०÷३५ वटा बाँदरको हूल आउने गरेको उनले बताए । ‘हुलका हुल आउने बाँदरले मकै सकेर अन्य बाली पनि खान थालेको छ’ उनले भने, ‘धेरै कोसिस गरेर बाँदर धपाउन खोजेपनि सकिएन ।’

अहिले किसानको लागि प्रमुख समस्या नै बाँदरको विगविगी रहेको अर्का किसान अमर थेबेले बताए । बाँदरले अदुवा र खोर्सानी बाहेक सबै अन्नबाली तथा नगदेवाली नष्ट गर्ने गरेको छ । अहिले बाँदरले अलैंची र अम्लिसोको टुसा, स्कूस, मकै, धान तथा विभिन्न फलफूल नष्ट गर्ने गरेको छ ।

खेतबारीमा लगाएको बाली मात्र होइन, घरमा थन्काएको अन्नबाली समेत बाँदरले घरैमा प्रवेश गरी नष्ट गर्ने गरेको छ । घरमा मानिस नभएको मौका छोपेर बाँदर घरभित्र नै प्रवेश गर्ने गरेको मंगोल थेवे बताउँछन् ।

विगत २ वर्षदेखि त्यस ठाउँमा आउन थालेको बाँदरले किसानको घरको भारबाटै मकै ओसार्न थालेपछि बाँदर मार्न वडा कर्यालयसँग अनुमति माग्ने तयारामा किसानहरु छन् । ‘कहिलेकाँही घरमा कोहि नभएको समयमा झ्यालबाट भित्रै छिरेर खानेकुरा समेत खाइदिने गरेको छ’ मंगोल थेवे ‘गाउँबाट जंगलतिर लखेट्यो, फेरी एकैछिनमा बारीमा आईसकेको हुन्छ ।’

यसैगरी अत्याधिक धानखेती हुने माईजोगमाईको वडा नम्बर ४ नामसालिङको तल्लो क्षेत्रका किसान समेत मारमा परेको छन् । धान फुल्ने सिजनमा बाँदरले च्यातेर नष्ट गरेको स्थानीय किसान खेम भट्टराईले बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार