‘लिम्बुवान’ को समर्थनमा गैरलिम्बू (फोटोफिचर सहित)

विराटनगर : प्रदेश १ लाई पुनर्सीमाङ्कन गरी लिम्बुवान र किरात/खम्बुवान प्रदेश बनाउन माग गर्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्च पूर्वमा आन्दोलनरत छ । विभिन्न दवावमूलक कार्यक्रम सञ्चालन गर्दै आएको लिम्बुवान मञ्चका लागि विस्तारै जनताको समर्थन समेत बढ्न थालेको छ ।

कुनैबेला बन्द, हड्ताल र तोडफोडको शैली अपनाउँदै लिम्बुवानको चर्को माग गरेको संघीय लिम्बुवान मञ्चले अहिले शान्तिपूर्ण रुपमा जनदवाव सिर्जना गर्ने गरी आन्दोलन गरिरहेको छ । विभिन्न स्थानमा कोणसभा, मार्च पास, धर्ना, प्रदेश सांसद, सभामुख र मुख्य मन्त्रीलाई ज्ञापनपत्र बुझाउने लगायतको कार्यक्रम गरी लिम्बुवानको पक्षमा समर्थन बढाउन थालेको हो । बन्द हड्तालले लिम्बुवानको पक्षमा समर्थन बढ्नुको साटो उल्टो घट्ने अनुभव बटुलेका लिम्बुवानका नेताहरुले पछिल्लो समय आन्दोलनको स्वरुप परिवर्तन गरेको हो ।

आन्दोलनको शैली परिवर्तन गरेसँगै लिम्बुवानको पक्षमा समर्थन बढ्न थालेको छ । लिम्बुवानको पक्षमा लिम्बूहरु मात्र होइन, गैरलिम्बूहरुले समेत समर्थन जनाउन थालेका छन् । यसको पछिल्लो उदाहरण हो, मंगलबार संघीय लिम्बुवान मञ्चले विराटनगरमा आयोजना गरेको प्रदेश १ को संसदमा ज्ञापन पत्र र धर्ना दिने कार्यक्रममा भएको सहभागिता र समर्थन । मंगलबार लिम्बुवान प्रदेशको माग गर्दै प्रदेससभा भवन अगाडि गैरलिम्बू समुदायले समेत धर्ना दिएका छन् ।

लिम्बुवान लिम्बुको जातिय राज्य हो भन्ने भ्रमलाई चिर्नको लागि लिम्बुवान प्रदेश समर्थक गैरलिम्बू समुदायले लिम्बुवान प्रदेशको पक्षमा ऐक्यवद्धता जनाउन धर्नामा सहभागी भएका हुन् । कार्यक्रममा राई, तामाङ, धिमाल, मगर, नेवार, याम्फू, दलित, खसआर्य सहित मधेसी र मुस्लिमको बाक्लो उपस्थिती रहेको थियो ।

यसअघि सोमबारका लागि सो कार्यक्रम तोकिएको भएपनि मोरङ र सुनसरीमा राधाकृष्ण रथयात्राको सार्वजनिक विदा दिएको भन्दै स्थगित गरेको थियो ।

यसअघि किरात राईहरुले प्रदेश १ को नाम किरात राख्नुपर्ने माग गर्दै आएका थिए । प्रदेश १ को नामाङकनमा सम्बनधमा विभिन्न माग उठिरहेका छन् । खासगरी पहिचान पक्षाधर राजनीतक दल र विभन्न जातीय संस्थाहरुले पहिचानका आधारमा नामाङ्कनको माग गर्दै आएका छन् । उनीहरुमध्ये कितपयले किरात प्रदेश, लिम्बुवान प्रदेश, किरात-लिम्बुवान प्रदेश, लिम्बुवान-किरात प्रदेश नामाङ्कन हुनपर्ने बताउँदै आएका छन् ।

उता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसले भने प्रदेश १ को नाम कोशी वा सगरमाथा बनाउनुपर्ने बताउँदै आएका छन् ।

संघीय लिम्बुवानले भने एक दशकभन्दा अघिदेखि नै अरुणपूर्व  नौ जिल्ला लिम्बुवान प्रदेशको माग गर्दै आन्दालनरत छ । संविधानमा १४ जिल्ला १ नम्बर प्रदेश भएपछि लिम्बुवान झनै आन्दोलित छ । उसले प्रदेशको पुनर्सीमाङकन गरी लिम्बुवान र किरात/खम्बुवान प्रदेश बनाउनुपर्ने माग गर्दै आएको छ । लिम्बुवान आन्दोलनको क्रममा दुई जना शहिद समेत भएका छन् ।

प्रदेशसभा गठन भएको ८ महिना वितिसक्दा समेत नामाङ्कन र स्थायी राजधानी तोक्न सकेको छैन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार