थुनामा रहेका पत्रकारको फैसला यान्गुन अदालतले रोक्यो

यान्गुन : रोहिंग्या मुस्लिम समुदायको नरसंहारसम्बन्धी समाचार संकलन गर्ने रोयटर्स समाचार संस्थासँग आबद्ध दुई पत्रकारमाथि लागेको गोपनीयता कानुन उल्लंघनको आरोपसम्बन्धी मुद्दाको फैसला एक साताका लागि स्थगित भएको छ ।

राज्यको गोपनीयता कानुन उल्लंघनको मुद्दा खेपिरहेका दुवै पत्रकारको फैसला त्यहाँको एक अदालतले सोमबार सुनाउने पूर्वनिर्धारित तालिका थियो । गत डिसेम्बरदेखि नै रोयटर्सका पत्रकार ३२ वर्षीय वा लोन र २८ वर्षीय क्या सो ओउ म्यान्मारको कुख्यात इन्सेन जेलमा थुनामा छन् । पत्रकारको रिहाइको माग गर्दै विश्वभरबाट म्यान्मारमाथि दबाब बढेको छ ।

यी दुवै पत्रकारले सेप्टेम्बर २०१७ मा द्वन्द्वप्रभावित रखाइन राज्यमा मारिएका १० रोहिंग्या मुस्लिमका बारेमा अनुसन्धान गरिरहेका थिए । उनीहरूलाई यान्गुनमा प्रहरीले खाना खान बोलाएको थियो ।

त्यही समयमा उनीहरूलाई केही कागजात दिइयो । त्यसपछि, उनीहरूलाई पक्राउ गरियो । रखाइन राज्यमा सैनिक कारबाहीसम्बन्धी गोप्य सामग्री राखेको आरोप उनीहरूमाथि लगाइयो ।

दुवै पत्रकारमाथि औपनिवेशिककालीन राज्य गोपनीयता कानुन उल्लंघनको आरोप लागेको छ । यस्तो दस्ताबेज राखिए १४ वर्षको जेल सजाय हुन सक्छ । अदालतको आदेशको पर्खाइमा कूटनीतिक व्यक्ति, सञ्चारकर्मी र शुभेच्छुकहरूको ठूलो भिड अदालतमा लागेको थियो ।

तर, जिल्ला न्यायाधीश खिन माउङ माउङले संक्षिप्त सुनुवाइ गर्दै मुख्य न्यायाधीश बिरामी भएकाले ३ सेप्टेम्बरमा मात्र आदेश सुनाउने जानकारी दिएका थिए । अदालतबाट बाहिर निस्कने क्रममा पत्रकार वा लोनले फैसला जेसुकै भए पनि आफूहरू भयभीत नभएको प्रतिक्रिया दिए । ‘हामी सत्य रहेको हामीलाई विश्वास छ र हामीले केही गल्ती गरेकै छैनौँ ।’

आङ सान सु कीको नेतृत्वमा पनि प्रेस स्वतन्त्रतामा संकट आएको भन्दै सर्वत्र आलोचना सुरु भएको छ । रोहिंग्या समुदायमाथि राज्यको व्यवहारले पनि उनको सार्वजनिक छवि अन्तर्राष्ट्रिय स्तरमै खस्किएको छ ।

राष्ट्रसंघीय एउटा मिसनले सोमबार म्यान्मारको मानवअधिकार उल्लंघनको अवस्थाबारे प्रतिवेदन सार्वजनिक गर्दै छ र राष्ट्रसंघीय सुरक्षा परिषद्मा रोहिंग्या संकटका बारेमा मंगलबार छलफल हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार