विराटनगर : प्रदेश १ लाई ‘लिम्बुवान प्रदेश’ नामाङ्करणको माग गर्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्च नेपालले विराटनगरमा प्रदर्शन गरेका छन् ।
पूर्वका विभिन्न जिल्लाबाट आएका संघीय लिम्बुवान मञ्चका कार्यकर्ताहरुले १ नम्बर प्रदेश संसद सचिवालय अगाडि प्रदर्शन गर्दै मुख्यमन्त्री शेरधन राईको राजीनामा समेत माग गरेका छन् ।
हज्जारौंको संख्यामा विराटनगर पुगेका उनीहरु बजारमा मार्चपास गर्दै अस्पताल रोड पुगेका थिए । सुरक्षाकर्मीहरुले उनीहरुलाई अस्पताल मोडमै रोकेका छन् ।
प्रदर्शनमा सहभागीहरुले प्रदेश १ को नाम लिम्बुवान राख्नुपर्ने, बढ्दो महँगी रोक्नुपर्ने र प्रमुख जिल्ला अधिकारीले समेत नटेर्ने मुख्यमन्त्री शेरधन राईले राजीनामा दिनुपर्ने माग गरेका छ्न् ।
यसअघि किरात राईहरुले प्रदेश १ को नाम किरात राख्नुपर्ने माग गर्दै आएका थिए । प्रदेश १ को नामाङकनमा सम्बनधमा विभिन्न माग उठिरहेका छन् । खासगरी पहिचान पक्षाधर राजनीतक दल र विभन्न जातीय संस्थाहरुले पहिचानका आधारमा नामाङ्कनको माग गर्दै आएका छन् । उनीहरुमध्ये कितपयले किरात प्रदेश, लिम्बुवान प्रदेश, किरात-लिम्बुवान प्रदेश, लिम्बुवान-किरात प्रदेश नामाङ्कन हुनपर्ने बताउँदै आएका छन् ।
उता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसले भने प्रदेश १ को नाम कोशी वा सगरमाथा बनाउनुपर्ने बताउँदै आएका छन् ।
संघीय लिम्बुवानले भने एक दशकभन्दा अघिदेखि नै अरुणपूर्व नौ जिल्ला लिम्बुवान प्रदेशको माग गर्दै आन्दालनरत छ । संविधानमा १४ जिल्ला १ नम्बर प्रदेश भएपछि लिम्बुवान झनै आन्दोलित छ । लिम्बुवान आन्दोलनको क्रममा दुई जना शहिद समेत भएका छन् ।