इलाममा ८४ करोडको खानेपानी आयोजना सम्झौता

राम योङहाङ

इलाम : इलाममा सञ्चालन हुन लागेको ‘इलाम बजार तेश्रो शहरी खानेपानी तथा सरसफाई आयोजना’ कार्यान्वयनका लागि चौपक्षीय सम्झौता भएको छ ।

सोमबार इलाममा आयोजित कार्यक्रममा आयोजना व्यवस्थापन कार्यालय, नगर विकास कोष, इलाम नगरपालिका र इलाम खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाबीच सम्झौतापत्रमा हस्ताक्षर भयो ।

आयोजनाबाट लाभान्वित हुने उपभोक्ताहरुको अग्रिम दाखिला गर्नुपर्ने ५ प्रतिशत नगद रकम दाखिला गरिसकेपछि सरोकारवालबीच वित्तीय सम्झौता भएको हो । आयोजना कार्यान्वयनका लागि यही महिनाभित्र टेण्डर आह्वान गर्ने नगर विकास कोषले जानकारी दिएको छ ।

आयोजनाबाट लाभान्वित हुने उपभोक्ताहरुको अग्रिम नगद दाखिला गर्नुपर्ने रकमका लागि ‘इलाम बजार तेस्रो शहरी खानेपानी संस्था’ ले नगरबासीबाट प्रतिधारा वापत नगद १५ हजार रुपैयाँका दरले रकम संकलन गरेको थियो । लागत सहभागिता बापतको रकम उपभोक्ताले तिरिसकेपछि आयोजनाको आधिकारिक उपभोक्ता बन्नका साथै उपभोक्तालाई नयाँ मिटर, १२ मिटर पाईप र धारा जडान खर्च आयोजनाको तर्फबाट व्यवस्थापन गरिने संस्थाका अध्यक्ष केदार थापाले बताए ।

एसियाली विकास बैंक (एडिवी) को आर्थिक सहयोगमा ८३ करोड ६८ लाख दुई सय ९२ रुपैंयाँको लागतमा इलाममा अहिलेसम्मकै ठूलो खानेपानी आयोजना सञ्चालन हुन लागेको हो ।

आर्थिक वर्ष ०७७/७८ सम्ममा सम्पन्न गरिसक्नुपर्ने आयोजनाका लागि नेपाल सरकार मार्फत एडीबीले ७० प्रतिशत अर्थात ५८ करोड ५७ लाख ६० हजार २ सय ४ रुपैयाँ अनुदान उपलब्ध गराउनेछ । ५ प्रतिशत स्थानीय उपभोक्ताको लागत सहभागिता अन्तरगत ४ करोड १८ लाख ४० हजार १४ रुपैयाँ लगानी छ । इलाम नगरपालिकाले २५ प्रतिशत अर्थात २० करोड ९२ लाख ७३ रुपैयाँ नगर विकास कोषसँग ऋण जमानत बस्नुपर्ने छ ।

खानेपानी आयोजनाका लागि सन्दकपुर गाउँपालिकामा रहेका चार वटा खोलाको मुहानबाट पानी ल्याइनेछ । आयोजनाबाट सदरमुकाममा प्रतिसेकेन्ड ४१ लिटर पानी आउनेछ । साना सहरी आयोजनाले हेरेको र अहिले पानी आपूर्ति भइरहेको खानेपानी आयोजनाको मुहान एउटै हो । साना सहरीले सदरमुकामबाट करिब ३२ किलोमिटर को सन्दकपुर गाउँपालिकाको गिताङ खोलाबाट प्रतिसेकेन्ड १६ लिटर, राते र मेवाखोलाबाट १०–१० तथा सुम्बेकको भाँडीखोलाबाट पाँच लिटर मिसाएर सदरमुकाममा पानी आपूर्ति गरिनेछ ।

आयोजनाको डिजनाई अवधि २० वर्षका लागि गरिएको छ । आयोजना अन्तरगत दुई वटा मर्मतसम्भार समेत गरी ४ वटा इन्टेक निर्माण गरिनेछ । त्यस्तै १ हजार ३ सय ९२ दशमलव ५ घनमिटर क्षमताका ९ वटा ट्याङकीहरु निर्माण गरिनेछ । ४१ लिटर क्षमताको खानेपानी प्रशोधन केन्द्र एउटा र २ हजार ८ सय ६८ वटा नीजि धारा निर्माण गरिने सम्झौतापत्रमा उल्लेख छ । आयोजना सम्पन्न भएपछि आगामी २० वर्षसम्म इलामबासीले खानेपानीको अभाव झेल्लु नपर्ने नगरप्रमुख महेश बस्नेतले बताए ।

आयोजना इलाम नगरपालिकाको वडा नम्बर ६ र ७ मा पूरा तथा ८ र ९ मा आंशकि रुपमा सञ्चालन हुनेछ । सुरुको वर्ष २ हजार १९ घरधुरीको २८ हजार १ सय ७२ उपभोक्तालाई दिनको सय लिटरको दरले खानेपानी पुग्ने अनुमान आयोजनाको छ । २० वर्षपछि यही आयोजनाको खानेपानी उपभोग गर्ने उपभोक्ताको संख्या ४ हजार १ सय घरधुरीको ३९ हजार ८ सय ६० पुग्ने अनुमान छ ।

मुहानमा विवाद भएको उजुरी परेपछि २ वर्षअघि फिर्ता भएको एसियाली विकास बैंकले फेरी इलाम सदरमुकमालाई आवश्यक पर्ने खानेपानी ल्याउने भएपछि स्थानीयमा आशा थपिएको छ । अहिले पानीको अभावमा दुई दिनमा एक पटक पानी वितरण गर्दै आएको इलाम नगरपालिकाको खानेपानीको समस्या समाधान गर्न आयोजना सहयोगी हुने स्थानीयको अपेक्षा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार