पहिरोका कारण १८ घर जोखिममा

बनेपा : काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका–१० चिनसौरामा माथिबाट खसेको पहिरोका कारण त्यहाँका १८ घरधुरी जोखिममा परेका छन् भने एक बालकको मृत्यु भएको छ ।

मंगलबार राति परेको अविरल वर्षाका कारण पहिरोले घर बगाउँदा डेढ वर्षको बालक दीपक तामाङको मुत्यु हुनुका साथै अन्य दुई घाइते भएका थिए । पाँच जनाको परिवार बस्दै आएको हेमबहादुर तामाङका कान्छो छोराको सुतिरहेको अवस्थामा पहिरोले पुरिएर मृत्यु भएको हो ।

दुई महिना अगाडिदेखि त्यहाँ बस्दै आएका हेमबहादुरले राति आएको पानीका कारण माथिबाट पहिरो आएर बस्ने टहरो पुरिएको बताए । ‘समय हेर्नै पाइएन, माथिबाट आएको पहिरोले छोपिहाल्यो, आमा र अरू बच्चा निकाल्न सकिए पनि एउटा बच्चा निकाल्न नसकेर ज्यानै गयो,’ बिलौना गर्दै उनले भने ।

अर्का स्थानीय बासिन्दा ज्ञानीमाया तामाङले बसिरहेको बेलामा एक्कासि आएको पहिरोले भूकम्पपछि बनाएको घर पनि भत्काएको बताइन् । दोस्रो किस्ता लिएर निर्माणकार्य सम्पन्न हुनै लागेको घर पहिरोले भत्काएपछि फेरि पहिलादेखि बस्दै आएको टहरामा नै जीवन गुजार्नुपर्ने बाध्यता भएको उनले बताइन् ।

सोही ठाउँका काले तामाङले पहिरोले घर पुरेपछि अब कता जाने र बस्तुभाउलाई कसरी जोगाउने भन्ने चिन्ता सताएको गुनासो गरे । ‘सुरक्षित ठाउँमा जानु त भनेको छ, तर कहाँ गएर बस्ने र कसरी बस्ने भन्ने अन्योलमा छौँ,’ तामाङले भने, ‘फेरि बाढी आयो भने मान्छे त यताउति जान्छौं तर बस्तुभाउलाई कता लाने हो बाटो नै छैन ।’

इन्द्रावती नदीको माथि निकै भिरालोमा रहेको उक्त बस्ती निकै जोखिम अवस्थामा रहेको स्थानीय बासिन्दाको भनाइ छ । विकट र भिरालो भू–बनोटका कारण एक घरबाट अर्को घरसम्म पुग्नको लागि धेरै समय लाग्ने भएकाले रातिको समयमा निस्कन समस्या भएको उनीहरूले बताए ।

घटना भएसँगै उद्धारका लागि पुगेको हिगुवापाटी प्रहरी चौकीका हवलदार कृष्ण अधिकारीले बस्ती निकै जोखिममा भएका कारण उद्धारमा कठिनाइ भएको जानकारी दिए । ‘त्यहाँ पुग्दा हामीलाई कसले कसरी सहयोग गर्ने हो तपाईंहरूले पहल गरिदिनुप¥यो भनिरहेका छन्,’ उनले भने, ‘माथिबाट भीर र तलबाट नदी बगिरहेका कारण पनि बस्ती भएको सबै ठाउँमा पुगेर स्थलगत अध्ययन गर्न नसक्ने अवस्था छ ।’

त्यहाँ जोखिममा रहेका घरपरिवारमध्ये तत्कालका लागि सात घर बस्ती तलको हल्देटारमा सार्ने र बाँकीलाई माथि रहेको कालिका प्राविमा राख्ने भन्ने विषयमा नगर प्रमुख टोकबहादुर वाइवा र प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतसँग कुरा भइरहेको अधिकारीले बताए ।

‘एउटै बस्तीको १९ घरपरिवार जोखिममा रहेकाले अहिले उनीहरू त्यहाँ बस्न सक्ने अवस्था छैन, राज्यले दिएको सेवा सुविधा लिएर बल्लबल्ल ऋण गरेर बनाएको घर भत्किसकेको र कतिपयको घर बस्न नमिल्ने भएकाले कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सोचिरहेका छौँ,’ सोही वडाका वडाध्यक्ष विष्णुमणि नेपालले भने, ‘विकल्प नभएर त्यस्तै जोखिममा बसिरहेका कतिपय स्थानका पीडितलाई नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाको समन्वयमा खाद्यान्न र ओढ्ने वस्तुको ब्यवस्था गरिएको छ ।’

पानी अझै आउने सम्भावना भएकाले त्यहाँबाट मान्छे र गाइवस्तुलाई सार्ने विषयमा सोचिरहेको र सबैलाई सुक्षित ठाउँमा जानुपर्छ भनेर अनुरोध गरेको नेपालले बताए ।

मण्डन देउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइबाले आज नगरको बैठक बस्ने र नगरस्तरीय विपत् व्यवस्थापन समितिको बैठक बसेर पहिलो चरणमा सम्भावित स्थलकोअध्ययन गर्ने र नगरले गर्न नसक्ने अवस्था देखिए माथिल्लो निकायमा कुरा राख्ने तयारी भइरहेको बताए ।

रेडक्रसको सहयोगमा सो बस्तीका जोखिमयुक्त तथा घरै बगाएका चार घरपरिवारलाई एक हप्तालाई पुग्ने खाद्यान्न खाना पकाउने भाडाकुँडा वितरण गर्नुका साथै सामान्य क्षति भएका २८ घरधुरीलाई पनि राहत वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाका सभापति रघुवर चौप्रधानले बताए ।

यसैगरी मंगलबार राति नै परेको अविरल वर्षाका कारण भुम्लु गाउँपालिका–१ ढुंगानाटोलका जानुका ढुंगाना र देवीप्रसाद ढुंगानाको घर पुरिँदा करीब रु ९ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै पहिरोका कारण गैरीगाउँका १६ घरधुरी जोखिममा रहेको र उनीहरूलाई सुरक्षित स्थानमा सार्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार