पाँचथर : समुद्र सतहबाट ४ हजार ४ सय ८० मीटरको उचाईमा रहेको तिम्बु पोखरीको भ्रमणमा जाने समय चलिरहेको छ । तिम्बु पोखरी अनुपम प्राकृतिक सुन्दरता, उच्च पहाडी रमणीय क्षेत्र, हिमालका टाकुरालाई सामुन्नेमा हेर्न सकिने, धार्मिक महिमाले अब्बल मानिन्छ ।
पाँचथर र ताप्लेजुङको सीमामा पर्ने यो पोखरी, यहाँको पर्यटकीय सम्भावना र यसको धार्मिक महत्वका विषयमा अन्य पर्यटकीय क्षेत्र जसरी प्रचार प्रसार समेत हुन सकेको छैन । पाँचथर, ताप्लेजुङ लगायत जिल्लाबाट उक्त पोखरी घुम्न जानेको संख्या भने क्रमशः बढिरहेको छ । यद्यपी तिम्बु पोखरी जाने पर्यटकको संख्या भने अपेक्षाकृत रुपमा हुन सकेको छैन ।
प्रशिद्ध पर्यटकीयस्थल तिम्बु पोखरी जाने मौसम चलिरहेको भएको छ । पाँचथरको याङवरक गाउँपालिका र ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको संगम स्थलमा रहेको तिम्बुङ यात्राको सिजन असारको शुरुदेखि आरम्भ भएर भदौ महिनासम्म चल्छ । भदौ लागेपछि भने जाडो बढ्न थाल्दछ । चौँरी र भेडा गोठाला चौँरी र भेडा लिएर बेँशीतिर झर्छन् ।
तिम्बु पोखरी क्षेत्रमा धार्मिक एवं जैविक–प्राकृतिक सौन्दर्यसँग रमाउने पर्यटकहरु कम्तिमा साता लामो भ्रमणका लागि निस्कनु पर्दछ । मानिसको चाप कम हुने हुँदा तिम्बु पोखरी जाने बाटोमा मानवनिर्मित फूलबारी भन्दा अब्बल प्राकृतिक फूलवारी भेट्न सकिन्छ । यी फूलबारी कहीँ धेरै रङ्गका फूल एकै ठाँउ भेटिन्छन् त कहीँ पहाडका ठूला ठूला पाखा एकै रङ्गका फूलले भरिएको पनि पाइन्छ । जसले पर्यटक तथा तीर्थयात्रीलाई आकर्षण गर्दछ ।
चट्टानयुक्त पहाड र ठूला ठूला समथर मैदानले तिम्बु पोखरीको यात्रालाई आनन्दायक र मनमोहक बनाउँछ । ठूला समथर मैदान, पानीका स–साना खोला खोल्सी र डुबोल्किाहरु, सगैँ भेटिने चौरी, याक, तोले, उराङ, भेडा, बाख्रा लगायतका हिमाली जनावरको चरन उत्तिकै मनमोहक हुने गर्दछ । गोठाला र पशुको सुरक्षाका लागि पालिएका महंगा हिमाली कुकुरको गर्जन पूरा पहाड कापेको महशुस हुने गर्दछ ।
यी आकर्षणलाई भेट्न कठीन भूगोलहरु पार गर्नु पर्दछ । तिम्बु पोखरीलाई विष्णु पोखरी समेत भनिन्छ । तर, यहाँको धार्मिक र ऐतिहासिक पक्षका विषयमा प¥याप्त खोजी हुन सकेको छैन । तिम्बु पोखरीमा पर्यटक तथा तीर्थयात्री पु¥याउने काम गरिरहेका याङवरक–२ का दीपेन राई प्रचलित किम्बदन्तीकै आधारमा उक्त स्थानका बारेमा धारणा बनाइएको बताउँछन् । तिम्बु पोखरीसँगै पहाडे मेगु, फलेके, फालोट जस्ता आकर्षक उच्च पहाडी र लेकाली क्षेत्र छन् ।
यो क्षेत्र जैविक विविधता र जडिबुटीले भरिएको ठाँउ हो । नेपाल–भारत सीमाको नजिकै रहेको यो क्षेत्र आसपासममा बहुमूल्य जडिबुटीहरु पाइन्छन् । प्रत्येक पर्यटक तथा तीर्थयात्रीले आफ्नै हातले बाटोमै पाँच औँले उखेल्न पाउँछन् । उक्त क्षेत्रमा के के जडिबुटी पाइन्छ भनेर नेपाल सरकारले खोजी समेत गर्न नसकेको राई गुनासो गर्छन ।
नजिकै सीमा रहेको भारत पक्षले आफ्नो जंगललाई राष्ट्रिय निकुञ्जको रुपमा विकास गरेको छ । जहाँ हिँडडुल गर्न समेत अनुमति चाहिन्छ । तर, भारतीयहरुले नेपालमा पाइने जडिबुटी खुलेआम चोरी गर्ने गरेको गोठालाहरु बताउँछन् । पुख्र्यौली पेशाका रुपमा गोठ पाल्दै आएको धनबहादुर बेघा आफ्नो भूमिका विषयमा नेपाल सरकार नै बेखबर भएको गुनासो गर्छन ।
नेपाली गोठाला र भरियालाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) तथा भारतीयहरुले दुःख दिने गरेको सुनाउँछन् । “हामी संगठित हुन समेत गाह्रो छ । सेना, प्रहरी छैनन् । केही परे हामी उनीहरुसँग जुध्न सक्दैनौँ” बेघाले सुनाए “हामी हाम्रो सीमा र भूमिको सुरक्षा गर्न पनि नसकिरहेका छौँ ।”
तिम्बु पोखरी पद यात्राका लागि अत्यन्त्रै उपयुक्त क्षेत्र हो । यहाँ पुग्न पाँचथरको च्याङ्थापुदेखि पद यात्रा गर्नुपर्छ । यहाँ पुग्न पाँचथरबाट सिक्किमको सीमा हुँदै तिम्बु पोखरी पुग्ने र ताप्लेजुङको कालिखोला हुँदै तिम्बु पोखरी पुग्ने दुई ओटा मूख्य पद मार्ग छन् ।
सीमा क्षेत्रको बाटो नेपाल, भारत, र भुटानका हिमाली र पहाडी क्षेत्रको अवलोकन गर्दै हिँड्न उपयुक्त भएपनि बढी जोखिमपूर्ण रहेको गाइडको काम गरिरहेका राई सुनाउँछन् । पद मार्ग निर्माण हुन नसेकाले यहाँ लौरी टेकेर, संघर्षपूर्ण रुपमा साहसिक यात्रा गर्नुको विकल्प छैन ।
तिम्बु पोखेरीदेखि केही घण्टा हिँड्दा सिक्किमको लक्ष्मी पोखरी पुगिन्छ । विशेषत भारतको पश्चिम बंगालका पर्यटकहरु सिक्किमबाट यात्रा थालेर लक्ष्मी पोखरी, तिम्बु पोखरी, चिवा भञ्ज्याङ हुँदै फर्किन्छन । उनीहरु प्रशस्तै गाइड र भरियाहरु, भारी बोक्ने चौरीहरुका साथमा हिँड्ने गर्दछन । प्रायजसो गोठमा नबसी टेण्ट टाँगेर बस्छन । नेपालीहरु भने गोठकै साहरामा हिँड्दछन ।
यसकारण नेपालीहरु गोठ बेँशीतर्फ झार्नुअघि नै तिम्बु पोखरी जान्छन् । व्यवस्थित रुपमा हिँड्ने भारतीयहरु कात्तिकसम्म यो बाटो हिँड्दछन । तिम्बु पोखरीबाट चिवाभञ्ज्याङ हुँदै सिक्किम फर्कने भारतीयले घण्टौँ नेपाली भूमिको प्रयोग गर्दछन् । तिम्बु पोखरी पुग्न धेरै खर्च लाग्दैन । बन्दोबस्तीका सामग्री बोक्नु अनिवार्य छ र समूहमा यात्रा गर्नैपर्छ । पथ प्रदर्शक पनि अनिवार्य रुपमा चाहिन्छ ।
यस्तै अत्यावाश्यक औषधी समेत बोक्नु आवश्यक पर्दछ । चौँरीको दुध, घिउ चाहेजति पाइन्छ यहाँ । यहाँ पुग्न गोठमा बस्नुको विकल्प भने छैन । जुनसुकै महिना होस् तिम्बु पोखरी पुग्ने बाटो अत्याधिक चिसो हुने गर्दछ । न्यानो कपडा लगाउनु र न्यानो ओढ्ने, ओछ्याउने बोक्नु उपयुक्त हुन्छ ।
सर्वाधिक महत्वको आकर्षणः केन्जो
चट्टाने पहाड बीचमा रहेको तिम्बु पोखरी आश्चर्य लाग्दो छ । पोखरी दर्शनको क्रममा देखिने बादल र घामको लुकामारी पहिलोपल्ट तिम्बु पोखरी पुग्नेका लागि रोमाञ्चक लाग्छ भने फर्किसकेपछि मीठो सम्झना बन्छ । करीब ४०० मिटर लम्बाइ र २०० मिटर चौडाइ रहेको स्वच्छ–निर्मल पानीले भरिएको पोखरी हेरेर कहिल्यै धित मर्दैन ।
हिमालको काखमा रहेको सुन्दर पोखरी, विभिन्न प्रजातिका लेकाली जडीबुटी र फूलको बास्ना, लेकाली वन्यजन्तु र पक्षीका सुमधुर आवाज, कतै फराकिला नागी चउर त कतै आङ नै जिरिङ्ग हुने चट्टाने पहरा, छुट्टै दुनियाँ जस्तो लाग्ने चौरी गोठालेको जिन्दगी तिम्बु पोखरी यात्राका मुख्य सौन्दर्य हुन् । यहाँ पदमचाल, केन्जो, माइकोपिला, पाँचऔंले, बिख्मा, कुटी, खोकिम जस्ता फूल र जडीबुटी पाइन्छ ।
तिम्बु पुगेर दर्शन गरे पुण्य प्राप्ति हुने र मनोकामना पूरा हुने जनविश्वास छ । तिम्बु आसपासमा अन्य स–साना पोखरी र कुम्भकर्ण हिमाल आसपासमा १७८ कुण्ड रहेको जानकार बताउँछन् । तिम्बुङ क्षेत्रबाट हिँड्न सक्दा दुई दिनमा कञ्जनजंघा आधार शिविर पुग्न सकिने त्यहाँका चौँरी गोठाला बताउँछन् ।
तिम्बु पोखरी जाने बाटो
तिम्बु क्षेत्रमा नजिकै मानव बस्ती छैन । तर चौँरी गोठालाले दर्साउने आत्मीयता र सत्कारले मानवता र सभ्यताको पाठ सिकाउँछ । दुनियाँ स्वार्थी बन्दै गएको बेला अनकन्टार ठाउँमा रहेका गोठमा तीर्थयात्रीले छुट्टै किसिमको आतिथ्यता पाउँछन् । गोठ नै त्यहाँका होटल र लज हुन् ।
साँघुरो गोठमा गोठालाले सकेसम्मको सुत्ने–बस्ने व्यवस्था मिलाउँछन् । उनीहरुले खाने कुरामा चामलको दाम मात्र लिन्छन् । पवित्रस्थलमा बसेर पवित्र कर्म गर्नुपर्छ भन्ने सोचले वर्षौंदेखि तीर्थयात्रीलाई सेवा दिँदै आएको त्यहाँका गोठाला बताउँछन् ।mechipost