चिकित्सकहरुको शान्तिपूर्ण जुलुसमा प्रहरी हस्तक्षेप, चिकित्सकहरु पक्राउ

काठमाडौं : आमरण अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्र्दै चिकित्सकहरुले बिहीबार राजधानीमा निकालेको शान्तिपूर्ण जुलुसमाथि  प्रहरीले हस्तक्षेप गरेको छ ।

शिक्षण अस्पतालबाट शान्तिपूर्णरुपमा निस्किएको जुलुसमाथि प्रहरीले हस्तक्षेप गरेको हो । प्रहरीले बल प्रयोग गरी झण्डै चार दर्जन चिकित्सकहरुलाई नियन्त्रणमा लिई पुलिस क्लबमा पुर्‍याएको छ ।

प्रहरी भ्यानमा राखिएका चिकित्सकहरुले भ्यानभित्रैबाट ‘एक दुई तीन चारm हामी मान्ने छैनौं हार’ नारा लगाएका थिए ।

चिकित्सकहरुले विरोध र समर्थन गर्ने जनताको मौलिक अधिकारमाथि सरकारले नाङ्गो हस्तक्षेप गरेको भन्दै आपत्ति जनाएका छन् । उनीहरुले चिकित्सकमाथि भएको प्रहरी दमनको विरोध गरेका छन् ।

चिकित्सकको शान्तिपूर्ण जुलुस शिक्षण अस्पतालबाट सडकतिर अगाडि बढ्न लाग्दा प्रहरीले बल प्रयोग गरेको थियो भने बिहानभर प्रहरी र चिकित्सकबीच झडप भएको थियो ।

प्रहरीले केही चिकित्सकलाई लछारपछार पारेको थियो ।

चिकित्सकहरुले सरकारबिरुद्ध नाराबाजी गरेका थिए । उनीहरुले ‘सरकार हामी तिम्रो सन्तान हौं, तिमि हाम्रो अभिभावक किन बन्दैनौ ?’, ‘कर्णालीका जनता किन जनता हैनन् ? शहरका मात्र जनता ?’ जस्ता प्लेकार्ड र ब्यानर बोकेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार