ताप्लेजुङमा असार मसान्तसम्म ७६ प्रतिशत रोपाइँ

ताप्लेजुङ : पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा असार मसान्तसम्ममा ७६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

धानखेती हुने ८ हजार ७३७ हेक्टर क्षेत्रफलमध्ये ६ हजार ६४०.१२ हेक्टरमा रोपाइँ सकिएको जिल्ला कृिष विकास कार्यालय ताप्लेजुङले जनाएको छ ।

गत वर्ष यही समयमा ८० प्रतिशत हाराहारीमा रोपाइँ भएको कार्यालयका सूचना अधिकारी रविन निरौलाले जानकारी दिए ।

जिल्लाका अधिकांश ठाउँमा आकाशेपानीमा भर पर्नुपर्ने भएकाले असारको अन्त्यतिरमात्रै धान रोपाइँ थालिएको थियो । असार २० पछिमात्र पर्याप्त वर्षा भएको हो ।

ताप्लेजुङमा साउनको तेस्रो सातासम्म धान रोप्ने गरिन्छ । मौसमअनुकूल रहे यस वर्ष अघिल्लो वर्षको तुलनामा झन्डै २ प्रतिशतले उत्पादन बढ्ने अनुमान कार्यालयको छ ।

गत वर्ष यस जिल्लामा २२ हजार २२३ मेट्रिकटन धान उत्पादन भएको थियो ।

ताप्लेजुङमा पछिल्ला वर्षहरुमा उन्नत जातका र खडेरी सहनसक्ने, उत्पादन बढी दिने धानप्रति कृषकको आकर्षण बढेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार