अर्गानिक चिया खेतीमा किसानको आकर्षण बढ्दै

 नरेन इलामेली

माइजोगमाई : पछिल्लो समय अर्गानिक चिया खेतीमा किसानहरुको आकर्षण बढ्दै गएको छ।

इलामको प्रमुख नगदेबालीको रुपमा रहेको चिया खेतीलाई अर्गानिक बनाउनका लागि किसानहरु लागि परेका छन। कृषि बालीमा प्रयोग हुने रासायनिक मल र विषादीका कारण मानव स्वास्थ्य सँगसँगै वातावरणमा समेत प्रत्यक्ष असर गरिरहेका बेला किसानहरुको आकर्षण अर्गानिक चिया खेतीतर्फ बढ्दै गएको छ।

पछिल्लो समय धेरै जसो स्थानीय तहहरुले पनि अर्गानिक खेतीलाई प्राथमिकता दिन थालेपछि किसानहरु उत्साहित भएर अर्गानिक खेती तर्फ अघि बढिरहेका छन्। यति बेला इलामको माइजोगमाई गाउँपालिकाका अधिकांश किसानहरु अर्गानिक चिया खेतीका लागि अघि बढिरहेका छन्।

विगत २५ बर्ष देखि आफ्नो ६० रोपनी जग्गामा चिया खेती गर्दै आएका किसान लोक बहादुर खँड्का भन्छन-” लामो समय देखि चिया खेती गर्दै आए पनि रसायनिक मल र बिषादीको असरबारे जानकारी नहँदा रसायनिक मल र विषादी प्रयोग गरियो तर विगत ४ बर्ष अछ्घि देखि चियामा प्रयोग हुने मल र विषादीलाई त्याग गरी अर्गानिक चिया उत्पादनमा लागेको छु।” चियामा मात्र नभएर हामीले उत्पादन गर्ने हरेक कृषि उत्पादनमा प्रयोग हुने रासायनिक मल र बिषादीका कारण मानव स्वास्थ्यमा‌ प्रत्यक्ष असर गरिरहेको छ जसका कारण विभिन्न प्रकारका रोग लाग्ने र वातावरण समेत प्रदुषित बन्दै गएकाले यसको न्युनिकरणका लागि आफू पनि अर्गानिक खेतीमा लागेको खँड्काले बताए ।

त्यस्तै अर्का किसान पदम बहादुर भण्डारी पनि लामो समय देखि चिया खेती गर्दै आएका छन्। वातावरणीय प्रदूषण न्युनिकरण गर्न, मानविय स्वास्थ्यलाई सन्तुलित राख्नका लागि अर्गानिक खेतीलाई कोड दिनुपर्ने भण्डारीले बताए। खँड्का र भण्डारी मात्रै हैन यतिबेला माइजोगमाईमा अधिकांश किसानहरु अर्गानिक खेतीलाई तर्फ आकर्षित बन्दै गएका छन्। रासायनिक मल र विषादी प्रयोग भएका कृषि उपजले भन्दा अर्गानिक उत्पादनले बढी मूल्य पाउने‌ भएकाले पनि किसानहरु आकर्षित बन्दै गएका हुन। उता माइजोगमाई गाउँपालिकाले पनि अर्गानिक चिया उत्पादनका लागि आधुनिक प्रविधि सहितको चिया प्रशोधन केन्द्र खोल्ने, किसानहरुलाई अर्गानिक चिया खेतीका प्रोत्साहित गर्न सहुलियत उपलब्ध गराउने, उत्पादित पत्तीलाई प्रशोधन केन्द्रले उचित मूल्यमा किन्ने र प्रशोधित चियालई अन्तर्राष्ट्रिय. बजार सम्म पुर्याउने जस्ता कुरा आफ्नो नीति तथा कार्यक्रममा समावेश गरिएकाले पनि किसानहरुको उत्साह बढेको छ।

त्यस्तै माइजोगमाईको नयाँबजार क्षेत्रलाई अर्गानिक क्षेत्र बनाउनका लागि यतिबेला इलामेली चिया उत्पादक सहकारी संस्था पनि सक्रिय रुपमा लागि परेको छ। इलामको सूर्योदय नगरपालिका १० फिक्कलमा अवस्थित सो सहकाीले सूर्योदय नगरपालिका र माइजोगमाई गाउँपालिकाका अधिकांश क्षेत्रमा अर्गानिक चिया खेती अभिनय नै चलाएको छ। यी दुई स्थानिय तहका विभिन्न स्थानहरुमा अर्गानिक चिया खेती प्रविधि तथा अभिलेख व्यवस्थापन, , गड्यौले मल उत्पादन र जैविक बिषादी निर्माण सम्बन्धि तालिम सम्पन्न गरेको छ भने हाल जैविक बिषादी बनाउने कामलाई तीव्रताका साथ अघि बढाइरहेको छ। जसका लागि सहकारीले अर्गानिक खेतीमा सहभागी किसानहरुलाई बारीमा लाग्ने किरा मार्न प्रयोग हुने गम सहितको प्लेट, जैविक बिषादी बनाउनका लागि २०० लिटर क्षमताको ड्रम र औषधिय गुण भएका वनस्पतिका विरुवा नि: शुल्क विवरण गरिरहेको छ। रासायनिक मल र बिषादीका कारण मानिस तथा पशुपन्छीमा प्राणघातक रोगहरु बढ्दै गएको र दिन प्रतिदिन बाताबरण समेत प्रदुषित बन्दै गएकाले उत्पन्न भएको जलबायु परिवर्तनको समस्यालाई अन्त्य गर्दै स्वास्थ्य उत्पादन र स्वास्थ्य जीवनका लागि आफूहरुले यस्तो कार्यक्रम चलाएको इलामेली चिया उत्पादक सहकारी संस्थाका अध्यक्ष कृष्ण प्रसाद सुबेदीले बताए।

रासायनिक मल र विषादीका कारण माटोको उर्वराशक्ति नष्ट हुँदै गएको र बिषादी कै कारण उत्पादित वस्तुको निर्यातमा समेत समस्या हुने गरेकसले यसमा सबैले जोड दिनुपर्ने सुवेदीले बताए। किसानहरु अर्गानिक चिया खेती तर्फ अघि बढ्दै गर्दा माइजोगमाई गाउँपालिका क्षेत्रमा भने ठूलो क्षमताको प्रशोधन केन्द्र छैन जसका कारण उत्पादित चिया अन्यत्र पठाउनु पर्ने बाध्यता रहेको छ । जसका कारण समयमा चिया ढुवानी नहुँदा किसानहरुलाई ठूलो मर्का परिरहेको छ यसलाई समय मै ध्यान दिएर गाउँपालिकाले ठोस कदम चाल्न सके मात्रै यो अभियान प्रभावकारी बन्ने देखिन्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार