सुजता सुनुवार
इलाम : इलाम भोर्लेनीका विद्यार्थीहरु हिलाम्मे बाटोका कारण नियमित स्कूल जानै पाउँदैनन् ।
इलाम नगरपालिका–५ मा रहेको बिब्ल्याँटे पेट्रोल पम्पदेखि भोर्लेनी हुँदै कृषि सडक जोड्ने पाँच किमीको बाटो अहिले मर्मत गरिएको छ । यही बाटोको प्रयोग गरेर माउण्ट मेरी सेकेन्डरी स्कूल भोर्लेनीका धेरै विद्यार्थीहरु पढ्न जाने गरेका छन् ।
जानेमध्ये अधिकाँश विद्यार्थी नियमित विद्यालयमा हाजिर हुन नसकेको र विद्यालय समयमा उपस्थित हुन नसकेको स्कूलले जनाएको छ ।
‘बाटो मर्मतका लागि खनिएको छ । उपभोक्ताबाट रकम समेत उठाइएको छ । बाटोमा ग्रावेल गर्ने भनिए पनि हालसम्म ग्रावेल हुन नसक्दा बाटोकै कारण नियमित पठनपाठनबाट विद्यार्थीहरु वञ्चित भइरहेका छन्’ स्थानीय योगेन्द्र पौडेलले गुनासो गर्नुभयो ।
अनिमेश सुवेदी कक्षा २ मा पढ्नु हुन्छ । बाटो हिलाम्मे भएकै कारण पठनपाठन सुरु भएदेखि नियमित स्कूल जान नसकेको आमा टिका सुवेदीको भनाई छ ।

उहाँ भन्नुहुन्छ,‘पढाई सुरु भएदेखि २० दिनसम्म विद्यालय पठाउन सकिन । विद्यालयले होस्टल राखिदिनु भन्नुहुन्छ, होस्टल राख्ने रकम छैन, सुवेदीले भन्नुभयो, ‘समय हुँदा स्कूल र्पुयाएर स्कूलमा नै ड्रेस फेरिदिने गरेको छु । ’
खेतीकिसानी गर्ने भएकाले सधै समय मिलाउन गाह्रो हुन्छ । बाटोकै कारण छोराछोरीले नै नियमित स्कूल जान नसकिरहेको सुवेदीले बताउनु भयो ।

‘सम्बन्धित व्यक्तिलाई भन्यो हुन्छ, हुन्छ भन्नुहुन्छ, हाम्रा कुरा कस्ले सुन्छ र?’ सुवेदीले गुनासो पोख्नु भयो । ‘देवीथान मन्दिर बनाउन यही मर्मत गरिएको बाटोमा दिनहुँ चार वटा ट्रयाक्टर गुडिरहन्छन् ।
पानी परेको समयमा बाटोको अवस्था एकदमै नाजुक हुन्छ । हामी जस्ता ठूलालाई त हिँड्न गाह्रो हुन्छ, सानालाई त गाह्रो हुने नै भयो नी,’ स्कूलका प्रिन्सिपल अनिल श्रेष्ठले भन्नुभयो, ‘नियमित विद्यालय आउन नसक्नेलाई छुटेका पाठलाई पुन सर मिसलाई दोर्होयाउन लगाएर पढाइलाई मिलाइरहेका छौँ ।’
‘केटाकेटी हिलाम्मे भएर आईपुग्छन्, दुखै गरेर पढाउँदै यो वर्खा कटाईरहेका छौँ । हिलाम्मे बाटोको प्रत्यक्ष असर विद्यालय र विद्यार्थीहरुलाई परिरहेको छ । यसको मर्मतमा चाडैँ ध्यान जानुपर्छ, श्रेष्ठले बताउनुभयो ।
सडक उपभोक्ता समितिका गीताबहादुर लिम्बुले भने बाटोमा भेल कटाउने काम भइरहेको बताउनुभयो । उहाँले ग्राबेल गर्नलाई पहल भईरहेको समेत जानकारी दिनभयो ।
इलाम नगरपालिका–५ को बरबोट–२ मा मात्र दुईवटा नयाँ र दुईवटा पुराना गरी चार वटा बाटाहरु निर्माण गरिएका छन् । बाटोकै लगि भनेर नगरपालिकाको तर्फबाट पाँच लाख, वडाले ४० हजार र उपभोक्ताबाट ७० हजार लगानी गरिएको छ ।



















































