बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा चारजना घाइते

बैतडी : बैतडीमा आज बिहान बिरामी बोेकेको एम्बुलेन्स दुर्घटना हुँदा बिरामीसहित चारजना घाइते भएका छन् ।

घाईते हुनेहरुमा बिरामी दार्चुलाको व्यास गाउँपालिका–६ बसेडीका ५५ बर्षीय विष्णुदत्त भट्ट, उनको साथमा कुरुवाका रुपमा रहेका सोही ठाउँका ४० वर्षीय देवदत्त भट्ट र सोही ठाउँका १८ वर्षीय गणेशदत्त भट्ट घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

यस्तै, एम्बुलेन्स चालक दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ का २४ वर्षीय गोविन्द धामी पनि घाइते भएका प्रहरीले जनाएको छ ।

दार्चुलाबाट बिरामी बोकेर धनगढीतर्फ गइरहेको म१झ १०३ नम्बरको एम्बुलेन्स आज बिहान ३ बजेतिर महाकाली राजमार्गअन्तर्गत सुर्नया गाउँपालिका–३ धरमघर नजिकै दुर्घटनामा परेको हो ।

एम्बुलेन्स सडकबाट करीब एक हजार मिटर तल झाडीमा खसेको छ । घाइते सबैको प्रहरीले उद्धार गरेको थियो ।

घाइते चारैजनाकोे उपचार जिल्ला अस्पताल बैतडीमा भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले बताए ।

एम्बुलेन्स दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार