कुकुरको टोकाइले रेडपाण्डा मर्‍यो

सुजता सुनुवार

इलाम : इलाममा दुई वटा कुकुरको टोकाइले भाले रेडपाण्डा मरेको छ । रेडपाण्डालाई जिल्लाको इलाम नगरपालिका वडा नम्बर ३ पुवामझुवास्थित ओराले चौर भन्ने ठाउँमा शुक्रबार दुई वटा कुकुरले शिकार गरीरहेको अवस्थामा फेला पारेको बताइएको छ ।

उद्धार गरिएको केही समय पश्चात नै रेडपाण्डाको मृत्यु भएको वडा नं. ३ का वडाध्यक्ष तिर्थ गुरुङ्गले जानकारी दिए । उनले ‘कुकुरले शिकार गरिरहेको अवस्थामा फेला पारिएको यो अनौठो जनावर रेडपाण्डालाई गहिरो चोट लागेको छ भन्ने सोचेनौँ । र यो विश्वकै दुर्लभ तथा लोपोन्मुख वन्यजन्तु रेडपाण्डा (हाब्रे) हो भनेर समेत चिनेनौँ ।’

घाँस काट्न जाँदै गर्दा स्थानीय डिम्बा कुमारी गुरुङ्गले कुकुरले शिकार गरिरहेको देखेपछि उद्धार गरेर खबर गरेको जनाइएको छ । त्यस पश्चात जिल्ला वन कार्यलयमा जानकारी गराईएको वडाध्यक्ष गुरुङ्गको भनाई छ ।

जिल्ला वन कार्यालय र रेडपाण्डा संरक्षणमा काम गरिरहेको उच्च पहाडी जडिबुटी उत्पादक संस्थाका प्रतिनिधिको सहयोगमा मृत रेडपाण्डालाई सदरमुकाम ल्याइएको हो । जिल्ला पशु कार्यालय इलाममा रेपान्डाको पोष्र्टमाटम गरिएको छ ।

पोस्ट मार्टमका क्रममा घाँटीमा, अगाडि र पछाडिको खुट्टामा गहिरो चोट लागेको र फोक्सोमा समेत असर परेको देखिएको सहायक जिल्ला वन अधिकृत अमर मण्डलले जानकारी दिए ।

रेडपाण्डा नेटवर्कको अध्ययनले नेपालको २३ जिल्लामा रेडपाण्डा पाइने देखाएको छ । लजालु र सोझो प्रकृतिको दुर्लभ रेडपाण्डा सामान्यतया २२ सय मिटर देखि ४५ सय मिटरको उचाईमा पाइने अध्ययनमा देखिएको छ ।

नेपालमा तीन सय ५० को संख्यामा रहेका रेडपाण्डा इलामको जमूना, माइपोखरी, जोगमाई र माइमझुवा र माबुमा मात्र पाइने उच्च पहाडी जडिबुटी उत्पादक संस्थाले जनाएको छ ।

कुकुरले शिकार गरिरहेको अवस्थामा भेटिएपछि भने १७ सय किलोमिटर उचाईमा रहेको पुवामझुवामा समेत पाइन्छ भन्ने तथ्य समेत खुलेको छ । विगतमा पनि सो क्षेत्रमा यस्ता जनावर भेटिएको स्थानियले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार