इलामका सामुदायिक विद्यालयले पनि मासिक र भर्ना शुल्क उठाउँदै

सुजता सुनुवार

इलाम : इलामका सामुदायिक विद्यालयले समेत भर्ना र मासिक शुल्क लिएको पाइएको छ ।

जिल्लाको इलाम नगरपालिका –१०, गोदकमा रहेको नन्द मावि र माई नगरपालिकाको कन्काई माविले भर्ना र मासिक शुल्क लिएको पाइएको हो  । नन्द माविले प्रवेश र अन्य फारम शुल्क गरी २ हजार ५५० , मासिक र अन्य फारम शुल्क गरी ३ हजार ७५० रुपैया शुल्क लिएको पाइएको हो ।

शिक्षा नियमावली अनुसार सामुदायिक विद्यालयहरुले माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पठन–पाठनको व्यवस्था गरेको छ । नियमावली विपरित सामुदायिक विद्यालयले समेत शुल्क असुल गर्न थालेपछि गरिबले मासिक शुल्क तिर्न गाह्रो हुने बताउँदै अविभावकले गुनासो गरेका छन् ।

सामुदायिक विद्यालयमा समेत अंग्रेजी माध्यमबाट गुणस्तरीय शिक्षाको व्यवस्था गरेपछि भर्ना र मासिक शुल्क उठाएको नन्द माविका प्रधानाध्यापक वाईबी लिम्बूले बताउनुभयो । उहाँले भन्नुभयाे ‘अन्य विद्यालयले उठाएको थाहा भएपछि हामीले पनि उठाएका हौँ ।

सरकारी विद्यालयले कुनै पनि बहानामा शुल्क उठाउन नपाउने  इलामका जिल्ला शिक्षा अधिकारी टंक प्रसाद गौतमको भनाई छ । गौतमका अनुसार समुदायका कुनै पनि अभिभावकले आफू खुशी चन्दा दियो भने विद्यालयले लिन  भने पाउँछ ।

‘अनुगमनका क्रममा अभिभावकको मञ्जुरीबिना शुल्क असुली गरेको पाइएमा हामी कारवाही गर्नेछौँ’, गौतमले भन्नुभयो ।

अभिभावकले आफ्ना केटाकेटी बोर्डिङ्ग लैजान थालेपछि सामुदायिक विद्यालयमासमेत अंग्रेजी माध्यमबाट पठन–पाठन सुरु गर्न थालिएको छ  । यसै अनुरुप यस वर्षबाट सामुदायिक विद्यालयमा कक्षा नर्सरी, के.जी. र एक कक्षामा अंग्रेजी माध्यमबाट पठन–पाठन गराउने व्यवस्था सुरु गरिएको हो ।

 

जिल्लाका १० स्थानीय तहमध्ये देउमाई नगरपालिकामा भने सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमको शिक्षा लागू गर्ने अभियान नै चलाइएको छ । सो नगरपालिकामा आधारभूत तहका लागि २० हजार र मावि तहका लागि ४० हजार नगरपालिकाले बजेट छुट्याउने व्यवस्था गर्ने नगरपालिकाले जानकारी दिएको छ ।

जिल्लामा चार सय १८ वटा सामुदायिक विद्यालय रहेका छन् । यी मध्ये प्रावि तह दुई सय ६५, निमावि ६३ मावि १० सम्म पठन–पाठन हुने ५३ र १२ सम्म पठन–पाठन हुने ३६ वटा र उच्च मावि तह एक वटा गरी चार सय १८ वटा सामुदायिक विद्यालय रहेको जिल्ला शिक्षा कार्यलयका निर्मल ढुङ्गेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘जिल्लाका अधिकांश विद्यालयमा अंग्रेजी माध्यम लागू गर्ने पहल भइरहेको छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार