नयाँ बुलन्द
इलाम : किरातीहरुको महान् चाड उभौली पर्व सोमबार धुमधामका साथ मनाएका छन् । जिल्लाका आदिवासी जनजाति समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी उभौंली मनाएका हुन् ।
लिम्बू समुदायको साझा संस्था किरात याक्थुङ चुम्लुङले इलाम नगरपालिका–९ स्थित बालनगाउँमा सामूहिक रुपमा उभौंली पर्व (यक्वा तङनाम) मनाएका छन् । प्रकृतिको पूजा गरी शुभकामना आदानप्रदान गरी यक्वा मनाएका हुन् ।
किरात याक्थुङ चुम्लुङ इलामका अध्यक्ष गायत्री थेगिमको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष यामप्रासाद लिम्बू, याक्थुङ फासिङ सजुमका अध्यक्ष बखतबहादुर आङदेम्बे, लिम्बू विद्यार्थी मञ्चका अध्यक्ष अतित योङहाङ, बालनगाउँ होमस्टेका अध्यक्ष बसन्त सुब्बा, डिकबहादुर लिम्बू लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
किरात याक्थुङ चुम्लुङ इलामका सचिव राम योङहाङले सञ्चालन गरकेो कार्यक्रमको स्वागत सहसचिव याम माबोहाङले गरेका थिए । सोही अवसरमा किरात याक्थुङ चुम्लुङका आजीवन सदस्यहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो । साथै केलाङ, यालाङ समेत गरिएको थियो ।
प्रत्येक वर्ष वैशाखे पूर्णीमाको दिन मनाइने उभौंली पर्व किरातीहरुले सामुहिक पूजा र विभिन्न कार्यक्रम गरी मनाइने गर्दछन् । किसानहरुले खनजोत र औजारहरुको प्रयोग गर्दा चोटपटक नलागोस्, बालीनाली राम्ररी फलोस्, किराफट्याङ्ग्रा नलागोस्, अन्नको सह होस्, बाढी, पहिरो तथा असिनापानीले नास नगरुन् भन्ने शक्ति तागेरा निङ्वा भुमाङसँग माग्दै किरातीहरुले यो पर्व मनाउने गर्दछन् ।
प्रकृतिपूजक किरातीहरुले प्रकृतिलाई पूजा गरेर मात्रै खेतीपाती लगाउन सुरु गरिने भएकाले उभों (माथि) गएर किरात समुदायले उभौंली पर्व मनाउने गरिएको किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष यामप्रसाद लिम्बूले बताए ।
यो पर्वलाई ऋतु परिवर्तनको आधारमा पनि छुट्याउने गरिन्छ । उभांैलीमा पैयुँ फुल्ने, बेंसीतिरका पशुपंक्षीहरु गर्मी मौसममा लेकतिर बसाई सर्ने, नदिखोलाका माछाहरु बसाई सरी तल (उधों) बाट माथि (उभों) तिर जाने हुनाले यो पर्वलाई उभौली भन्ने गरिन्छ ।
यस्तै जिल्लाको माङसेबुङ गाउँपालिकाको बाँझो, फाकफोकथुम गाउँपालिकाको फुएतप्पा, माइ नगरपालिकाको दानाबारी, लक्ष्मीपुर, सुर्योदय नगरपालिकाको पशुपतिनगर, पाँचथरको सिलौटी, लब्रेकुटी, जोरपोखरीलगायतका स्थानहरुमा समेत उभौली पर्व सामुहिक रुपमा मनाइएको किरात याक्थुङ चुम्लुङले जनाएको छ ।
यसैगरी किरात राई यायोख्याले पनि विभिन्न स्थानमा प्रकृतिको पूजा तथा शुभकामना आदानप्रदान गरी उभौंली पर्व मनाएका छन् । सदरमुकामस्थित ओपीधारामा सामूहिक पूजा गरिएको यायोख्याले जनाएको छ । यस्तै सुर्योदय, माई नगरपालिका तथा सन्दकपुर र चलाचुली गाउँपालिकाका विभिन्न क्षेत्रमा यो पर्व मनाईएको छ । राई जातिले यो पर्व सिमालिम सेवा नामले मनाउने गर्दछन् । यस्तै सुनुवार, भुजेल र याक्खाले पनि विभिन्न कार्यक्रम गरी उभौंली मनाएका छन् ।






















































