अबको एकमात्र संकल्प विकास र समृद्धि : उपराष्ट्रपति पुन (भिडियो सहित)

राम योङहाङ

इलाम : उपराष्ट्रपति नन्दबहादुर पुनले देश आर्थिक समृद्धिको दिसामा अघि बढेको बताएका छन् । इलाम सदरमुकाम (खलङ्गा) को दुई शतवार्षिकीको अवसरमा आयोजित इलाम महोत्सवको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले देश संविधान कार्यान्वयन गर्दै समृद्धितर्फ अघि बढेको बताए ।

उपराष्ट्रपति पुनले ०७४ लाई गौरवमय निर्वाचनको रुपमा विदाई गरेको स्मरण गर्दै ०७५ लाई विकास र समृद्धिको वर्षका रुपमा बनाउनुपर्ने धारणा राखे । ‘हामीले विभिन्न चरणका निर्वाचन सम्पन्न गरी देशलाई यहाँसम्म ल्याउन सफल भएका छौ’ उपराष्ट्रपति पुनले भने ‘अबको एकमात्र संकल्प र साझा अजेण्डा विकास र समृद्धि हो । त्यसका लागि सबै पक्ष एक भएर अघि बढ्नुपर्दछ ।’

संविधानले नै समाजवादी व्यवस्थाको परिकल्पना गरेको उल्लेख गर्दै उपराष्ट्रपति पुनले त्यसका लागि विभिन्न क्षेत्रमा प्रतिष्पर्धाको जरुरी रहेको बताए । ‘आर्थिक विकास र समृद्धिका लागि प्रदेशहरुले प्रतिष्पर्धा गर्नुपर्छ । प्रतिष्पर्धा मैत्रीपूर्ण र एकआपसमा सहयोगात्मक हुनुपर्दछ’ उनले भने । उनले स्थानीय तहहरुबीच समेत स्वस्छ र सहयोगात्मक प्रतिष्पर्धा गर्न सुझाव दिए ।

उपराष्ट्रपति पुनले इलाम राजनीतिक परिवर्तनमा विशेष योगदान गर्ने जिल्ला रहेको स्मरण गर्दै समृद्धिको यात्रामा समेत इलामले महत्वपूर्ण योगदान गर्ने अपेक्षा रहेको बताए । ‘इलाम नेपालकै सुन्दर जिल्ला हो । यो जिल्ला कृषि, पशुपालन, शिक्षा, भाषा, संस्कृति र पर्यटनका क्षेत्रमा अत्यन्तै अगाडि छ’ उपराष्ट्रपति पुनले भने, ‘यस्तो विविधतायुक्त जिल्लाको विकासका लागि सबै पक्ष र समुदायलाई समेटेर अघि बढ्न आवश्यक छ ।’

त्यस्तै १ नम्बर प्रदेशका आन्तरीक मामलिा तथा कानुनमन्त्री हिक्मत कार्कीले देशलाई समृद्ध बनाउन सबै जनता एकजुट भएर अघि बढ्नुपर्ने बताएका थिए ।

महोत्सव उद्घाटनका अवसरमा इलाम नगरपालिका र धरान उपमहानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापनाका लागि धरान उपमहानगर प्रमुख तारा सुब्बा र इलाम नगर प्रमुख महेश सस्नेतबीच सम्झौतापत्रमा हस्ताक्षर गरी आदानप्रदान गरिएको थियो । त्यस्तै इलाम नगरपालिका र माईभ्याली फूटबल क्लबबीच पनि माईभ्याली गोल्डकपको प्रथम पुरस्कार मेयर्स प्राइजको नाममा नगरपालिकाले प्रवद्र्धन गर्नका लागि सम्झौता भएको छ । नगरप्रमुख बस्नेत र माईभ्याली क्लबका अध्यक्ष धिरेन चेम्जोङबीच सम्झौतापत्रमा हस्ताक्षर सो सम्झौतापत्र भई आदानप्रदान भएको थियो ।

कार्यक्रम उद्घाटनका अवसरमा विभिन्न जातजातिका साँस्कृतिक झाँकीसहितको र्यालीले इलाम बजार परिक्रमा गरिएको थियो । त्यस अवसरमा इलामका नागरिक युद्धप्रसाद वैद्यलाई विशिष्ट नागरिकको सम्मान गर्दै रथारोहण समेत गरिएको थियो ।

कार्यक्रम इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतको अध्यक्षतामा भएको थियो ।

भिडियो हेर्नुहोस् …

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार