सुजता सुनुवार
इलाम : लागेसँगै इलाममा चिया उत्पादनको सिजन सुरु भएको छ । सिजनको सुरुमा नै जिल्लाका विभिन्न साना तथा ठूला चिया कारखानामा उत्पादित चिया आठ देशका व्यापारीले माग गरेकाले चिया उद्योगी खुशी भएका छन् ।
जिल्लाको सूर्याेदय नगरपालिकाका साना मझौला र ठूला उद्योग र किसानद्धारा उत्पादित चियाको गुणस्तरिय जाँच गर्दै छनौट गर्न तेस्रो मुलुकका व्यापारी सोमबार नेपाल आएका थिए । गुणस्तरिय जाँचमा इलाममा उत्पादित चिया उत्कृष्ठ ठहरिएकाले आठ देशका व्यापारीले चियाको माग गरेको बताइएको छ ।
कति परिणाममा माग गर्ने भन्ने चाही आ–आफ्नो देश पुगेपछि मात्र अडर गर्ने व्यापारीले बताएको स्थानिय चिया किसान उद्योगीको भनाई छ ।
८ देशका १५ विदेशी व्यापारी, चियाविज्ञले सुर्योदय नगरपालिका वडा नं. ४ स्थित श्रीअन्तुमा किसानले कोठेबारीको मल लगाएर उत्पादन गरेका अर्गानिक चियाको गुणस्तर जाँच गरी उत्पादित चिया उत्कृष्ट रहेको प्रतिक्रिया दिएका छन् ।
प्रत्येक साना कारखानाका बेग्लाबेग्लै उत्पादनको नमुना प्रत्येक व्यापारीले चियाको गुणस्तर ‘जाँच’ गरेका थिए । जाँचका क्रममा उनीहरूले कारखानामा उत्पादित चिया मन पराए र चिया किसान तथा उद्यमीसँग चियाको ‘अर्डर’समेत गरेको श्रीअन्तुका चिया किसान तथा उद्यमी अविनन्द गिरीले बताए ।
उनका अनुसार तेस्रो मुलुक अस्ट्रेलिया, चीन, जापान, युके, क्यानडा, जर्मनी र डेनमार्क लगायत मुलुकका व्यापारीको समूहले इलाममा उत्पादित चियाको माग गरेका छन् ।
उत्पादित चियाका आइटममध्ये ‘ग्रिन टी र ब्ल्याक टी को बढी माग भएको चिया किसान गिरीको भनाई छ । उनले भने, ‘पहिला १४ रुपैयाँ प्रतिकिलो मात्र हरियो पत्ती बेच्न समेत धेरै समस्या थियो । तर अहिले तेस्रो मुलुकका व्यापारी आफ्नै घरबारीमा आएर चियाको माग गरेपछि भने गुणस्तरिय चिया उत्पादनमा जोश बढेको छ ।
इलाममा उत्पादित चियालाई विश्वकै उच्च गुणस्तरको अर्गानिक चिया बनाउने नगरपालिकाको कार्यक्रम नै रहेको सुर्योदय नगरपालिका प्रमुख रणबहादुर राईले बताए । उनले भने, ‘सहकारी, किसान र उद्योगीको समन्वयमा चियाको गुणस्तर उच्च बनाउने कार्यमा लागी परेका छौँ । मंगलबार व्यापारी चिया उद्योगी र किसानबिच अन्तरक्रिया कार्यक्रम समेत गरेका छौँ , तेस्रो मुलुकका व्यापारीलाई निराश बनाउने छैनौँ ।’
इलामबाट १५ प्रतिशत तयारी चिया स्याम्बोलका लागी लगेर ८ देशका १५ विदेशी व्यापारी, चियाविज्ञ आज इलामबाट फर्कने प्रमुख राईले जानकारी दिए ।
हाल सुर्योदय नगरपालिकाका बगानमा साना मझौला र ठूला गरी सुचिकृत ४२ र अन्य गरी ५० उद्योग रहेका नगरपालिका प्रमुख राईको भनाई छ ।
यी उद्योगमा ७ प्रकारका चिया उत्पादन गरिदै आएको छ । वार्षिक ३० लाख के. जी. बराबरको तयारी चिया उत्पादन भइरहेको छ । इलाममा इलामका तत्कालीन बडाहाकिम गजराज सिंह थापाका पालामा वि.सं. १९२० सालमा इलाम चिया कमान नेपालमा चिया खेतीको शुरूवात भएको इतिहास छ ।






















































