नयाँ बुलन्द
इलाम : पूर्वी नेपालको चार जिल्ला जोड्ने विद्युत प्रशारण लाइनको स्तरोन्नती सुरु भएको छ । झापाको विर्तामोडदेखि इलाम र पाँचथर हुँदै ताप्लेजुङको तोक्मेडाँडा जोड्ने ३३ केभी विद्युत प्रशारण लाइनको स्तरोन्नती सुरु भएको हो ।
नेपाल विद्युत प्राधिकरण इलाम वितरण केन्द्रले पहिलो चरणमा सूर्योदय नगरपालिका क्षेत्रमा पर्ने १० किलोमिटर क्षेत्रको विद्युतीय तार परिर्वतन गर्न थालिएको नेपाल विद्युत प्राधिकरण इलाम वितरण केन्द्रका प्राविधिक तारा येक्तेनले जानकारी दिए ।
३३ केभी प्रशारण लाइनमा रहेको ‘ओ फाइब’ को तार परिवर्तन गरी मोटो तार ‘डग वेयर’ जडान गरिँदै आएको छ । केन्द्रीय प्रशारण लाइनमा ‘डग वेयर’ तार जडान गरेपनि विद्युतको चुवाहट कम हुने र बेलाबेला हुँदै आएको लोडसेडिङ पनि अन्त्य हुने विद्युत प्राविधिकरणको दावी छ ।
सूर्योदय नगरपालिकाको फिक्कल बजारदेखि हर्कटे बजारसम्मको क्षेत्रको विद्युतीय तार स्तरोन्नतीको काम सक्न दुई साता लाग्ने नेपाल विद्युत प्राधिकरण इलामका प्रमुख रबिनबाबु घिमिरेले बताए ।
२५ लाखको लागतमा सुरु भएको प्रशारण लाइन स्तरोन्नतीको कामका लागि बजेट अभाव हुन नदिने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रतिवद्धता पनि जनाएको घिमिरेले जानकारी दिए ।
दूई साताअघि विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ इलाम पुग्दा लोडसेडिङ अन्त्यका गर्न इलामबासीले माग गरेपछि विद्युत प्राधिकरणले प्रशारण लाइन स्तरोन्नतीको काम सुरु गरेको हो ।
इलाम वितरण केन्द्रले पूर्वी नेपालको पहाडी जिल्लामा विद्युत विस्तार गर्दै आएको छ ।